इच्छाकामनाले निर्माण गर्यो चिस्यान केन्द्र
मुग्लिन(चितवन) - इच्छाकामना गाउँपालिकाले रु २० लाख लागतमा चिस्यान केन्द्र निर्माण गरेको छ । कृषि उपजलाई भण्डारण गर्न लागि वडा नम्बर ३ स्थित फिस्लिङमा रहेको कृषि भवनमा गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेको हो ।
चिस्यान केन्द्र अभावमा किसानले सस्तोमा सागसब्जी तथा फलफूल बेच्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले केन्द्र निर्माण गरेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । किसानको माग र आवश्यकताका आधारमा भविष्यमा पनि चिस्यान केन्द्र निर्माण गर्ने उनले बताए ।
अध्यक्ष गुरुङका अनुसार कृषिजन्य उत्पादनको सङ्कलन तथा बिक्रीका लागि कृषि भवन निर्माण गरिएको हो । उक्त भवनमा स्थानीय दुई वटा कृषि सहकारी र कृषि समूहसँग सहकार्य गरेर सागसब्जी बिक्रीको व्यवस्था मिलाइएको छ । सो स्थानमा केन्द्र निर्माण भएको हो ।
निकट भविष्यमा सहकारीमार्फत किसानलाई बीउबिजन मल र आवश्यक औजार सुपथ मूल्यमा उपलब्ध गराइने अध्यक्ष गुरुङले बताए । कृषि भवनमा कोसेलीघर पनि सञ्चालन गरिने भएको छ ।