Nic Ad Nic Ad
Nic Ad Nic Ad

यसरी गरियो गोवर्द्धन पूजा

शनिबार, कात्तिक १७, २०८१

काठमाडौँ - तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु, हलि एवं कृषकको पूजा आज गरी मनाइएको छ ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजा आज गर्ने गरिएको छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले बताए  । भगवान् विष्णुको आज्ञा अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मत्र्यलोकको शासन गर्ने अधिकार बलिराजाले पाएको पौराणिक मान्यता छ । दानमा कहलिएका राजा बलिले नै भलो होस् भनेर भैलो र देउसिरे भनी देउसी खेल्ने परम्पराको सुरुवात गरेको विश्वास छ । यसै आधारमा आज बलिको पनि पूजा आराधना गरिएको छ ।

प्राचीनकालदेखि नै गोरुले कृषिकर्मका लागि खेत, बारी जोतेर महत्त्वपूर्ण योगदान गर्दै आएको छ । महादेवको वाहनको रूपमा समेत पूजिने गोरु (साँढे) लाई आज पूजा गरी मीठा मीठा खानेकुरा दिए वर्षभर खुसी भएर कृषि कर्ममा सहयोग गर्ने विश्वास छ । यसैगरी गोरु जोत्ने हलिलाई पनि पनि आज घरमा बोलाएर टीका दक्षिणासहित मीठा कुरा खान दिइन्छ । यसैले आजको दिनलाई हल तिहार पनि भनिन्छ ।

वर्षभर कृषि कर्म गर्ने कृषकलाई पनि आज पूजा गरी मीठा मीठा खानेकुरा खान दिइएको छ । तिहारमा काग, कुकुर, गाई, गोरु, हलि, कृषकलाई पूजा गर्नुले कामका आधारमा कसैलाई भेदभाव नगरी सबैको महत्त्व रहेको सांस्कृतिक रूपमा अर्थ दिने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । यसले वैदिक दर्शनको महत्वलाई स्थापित गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्