आईजी कुँवर बेलायत गए, कार्यबाहक प्रमुख एआईजी राई
काठमाडौं– नेपाल प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा सहभागी हुन आइतबार बेलायत उडेका छन्। उनको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) टेकप्रसाद राई संगठनको कार्यबाहक प्रमुखको जिम्मेवारीमा छन्।
इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने महासभामा सहभागी हुन कुँवर बेलायत गएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।
महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहसमेत बेलायत प्रस्थान गरेका छन्।
इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयमा मतदानद्वारा निर्णय गर्ने प्रावधान छ।
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१ ०९:२४
प्रतिक्रिया दिनुहोस्