Nic Ad Nic Ad
Nic Ad Nic Ad

तिहारमा तीन युवाले बेचे एक लाख बराबरको फूल

आइतबार, कात्तिक १८, २०८१

तनहुँ- तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी एक लाख रुपैयाँको सयपत्री फूल बिक्री गरेका छन् । यसै वर्ष पहिलो पटक सयपत्री फूल खेती गरेका यहाँका तीन युवाले तिहारलाई लक्षित गरी एक लाख बढीको फूल बिक्री गरेका हुन् ।

अक्षय कायस्थ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले म्याग्दे गाउँपालिका-६ धैरेनीमा उत्पादित सयपत्री स्थानीय स्तरमा बिक्री गरेका छन् । मागअनुसार सयपत्री फूल पुर्‍याउन नसकिएको अक्षयले जानकारी दिए ।फूल लगाउन ढिलाइ भएकाले उत्पादन कम भएको भन्दै माग धेरै आएकाले माग अनुसार पुर्‍याउन नसकिएको उनले बताए । उनले भने, ‘बारीमा लगाएकोमध्ये एक तिहाइ मात्र फूल उत्पादन भएको छ । अझै फूल उत्पादन हुन बाँकी छ । तिहारमा मनग्ये बिक्री भयो । बजार मूल्य राम्रो पाउँदा हामी उत्साहित भएका छौँ ।’

उनले प्रतिकिलो २ सय ५० रुपैयाँमा फूल बिक्री गरिएको जानकारी दिए । फूल बिक्रीका लागि म्याग्दे–४ थर्पुमा बिक्री केन्द्र स्थापना गरिएको थियो । गाउँपालिकाको सहयोगमा बिक्री केन्द्रमा राखिएको फूलले बजार पाउन सफल भएको अक्षयको भनाइ छ ।

म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलो पटक युवाहरूले सयपत्री फूल खेती सुरु गरेका हुन् । सयपत्री फूल खेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार