प्रधानमन्त्री ओली घेराबन्दीमा पर्ने र तिव्र आलोचना खेप्नुपर्ने मुख्य तीन कारण
काठमाडौं– दुई पटकसम्म उपप्रधान र गृहमन्त्री बन्नका लागि सत्ता समीकरणमा एमाले, माओवादीसित हात मिलाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिरासतबाट हालको सरकार ढाल्नका लागि आह्वान गरेका थिए।
उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहेसम्म जनताले न्याय पाउन नसक्ने भनी आफ्नो सहकारी ठगी तथा संगठीत अपराधमा पक्राउविरुद्धको विष बमन गरे।
फलतः रास्वपाका कार्यकर्ताले ओलीविरोधी नारा एक सातासम्म निरन्तर घन्काए। चितवनमा त उनको शव नै बनाएर पनि नारायणी नदीमा सेलाइयो।
रास्वपा मात्र होइन सत्तामा रहँदा होस् या बाहिर नेकपा माओवादी केन्द्रका कार्यकर्ताले पनि ओलीको तिव्र आलोचना गरिरहेका हुन्छन्।
अहिले सहकार्य गरेका कारण मौन रहेका कांग्रेस कार्यकर्ताले पनि ओलीविरुद्ध बोलेको पाइन्छन्।
विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंको भेलामा होस् या अन्यत्र अहिले ओलीविरुद्धका घेराबन्दी तिव्र हुने गरेको पाइन्छन्। यहाँसम्मकी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि ओलीको आलोचना गरेका छन्।
आखिर चौतर्फी निशाना र घेराबन्दीमा किन पर्छन् ओली? यसका मुख्य तीन कारणलाई पहिल्याइएको छ।
१. विपक्षी र विरोधीसित नझुक्ने, पेचिलो व्यङ्ग्य गर्ने बानी
ओली विपक्षी र बिरोधीसित कहिले पनि झुकेका छैनन्। आत्मसमिक्षा नगर्ने बरु कसिलो व्यङ्ग्य प्रहार गर्ने प्रधानमन्त्री ओलीको बानी छ।
नेकपा हुँदा होस् या विभाजनपछिका समय ओली कहिले पनि निराश र झुक्ने स्थितिमा देखिएनन्। बरु, पेचिलो उत्तर र प्रहार गरिरहेका भेटिए। यसकारण पनि उनको आलोचना हुने गरेको छ।
२. सत्ता र शक्तिमा हुँदा सपनाका लहर सुनाउने, उतारचढावका कारण कार्यान्वयन गर्न नसक्ने
सत्तामा र शक्तिमा रहँदा प्रधानमन्त्री ओलीले विकासका अनेक सपनाका लहर सुनाउने गरेका छन्। घर–घरमा ग्यासका पाइपदेखि रेल र पानीजहाज चलाउने जस्ता विषयलाई उनले सतहमा ल्याए।
यी दीर्घकालिन परियोजना रहेका कारण सत्ता समीकरण बदलिएपछि कार्यान्वयन नहुने कारण आफैं व्यङ्ग्यको शिकार समेत भएका छन्, प्रधानमन्त्री ओली। यसैकारण उनको बिरोध गर्दा यी विषयबस्तुलाई तिव्रताका साथ विपक्षी र बिरोधीले उठाउने गरेका छन्।
३. राजनीतिक समीकरण जतिबेला पनि बदल्दिने र केही घटनाक्रमको विकास गरिदिने
आवधिक निर्वाचनपछि ओलीले तीन वटा सरकार बदलिदिएका छन्। सम्भवतः संसदमा रहेका प्रायः दललाई सत्ता समीकरणमा लग्ने व्यक्तिमा पर्छन् ओली।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ०७९ को आवधिक निर्वाचनपछि प्रधानमन्त्री बनाउँदा रास्वपा, राप्रपा, जसपा, जनमत, नाउपालगायतका पार्टीलाई सत्तामा लगेका थिए।
प्रचण्डको सरकारलाई कांग्रेसले समर्थन गरेपछि सत्ता बाहिर पुगेको एमाले फेरि कांग्रेसलाई अलग राख्दै सरकारमा पुगेको थियो। जुन सरकारको नेतृत्व गरेका प्रचण्डलाई चार महिनामा नै फेरि कुर्सीबाहिर ल्याउन ओलीको सक्रियता रह्यो।
यसकारण सत्ताबाहिर रहेका माओवादी, रास्वपालगायतका दल, तिनका कार्यकर्ता ओलीप्रति आलोचक प्रवृत्तिमा उत्रिन्छन्। आफैं नेतृत्वको सरकार रहेका बेला ओलीले मिनबहादुर गुरुङ जस्तो विवादीत व्यापारीबाट एमाले पार्टी कार्यालयका निम्ति जग्गा दान लिएका कारण पनि आलोचनामा परेका छन्।
कतिपयले उनको सरकारका पालामा नै उठेको गिरीबन्धु चियाबारीको जग्गा, ओम्नी, यतिलगायतको विषयलाई पनि उठाएर बिरोध गर्दै आएका छन्। यी विषयमा ओलीले प्रष्टोक्ति दिनुको साटो प्रतिरक्षा गरी उल्टै व्यङ्ग्यवाण गरेका कारण पनि घेराबन्दी र आलोचना खेप्दै आउनु परेको छ।