रास्वपाले केन्द्रीय समिति बैठक डाक्यो, उपसभापति अर्यालको दौडधुप जारी
काठमाडौं– सहकारी प्रकरणमा सभापति रवि लामिछाने हिरासतमा रहेका बेला दबाबका लागि प्रदर्शन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक २४ गतेलाई डाकेको छ।
मंगलबार पोखरामा प्रदर्शन तय गरेको रास्वपाले काठमाडौं केन्द्रित आन्दोलनका लागि २४ गतेलाई केन्द्रीय समितिको बैठक डाकेको छ।
सभापति लामिछानेलाई हिरासतबाहिर राखेर नै अनुसन्धान गर्नका लागि रास्वपाको माग छ। राज्य व्यवस्था समितिको बैठकमा सांसद चन्दा कार्कीले यस्तो माग गरेकी थिइन्।
यता यहि कामका लागि उपसभापति डीपी अर्यालको दौडधुप जारी छ। उनले तिहारअघि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलाई भेटेर सभापति लामिछानेलाई हिरासतमुक्त गराउनका लागि पहल गरेका थिए।
यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट्नका लागि उनले प्रयास गरिरहेका छन्। त्यसअघि परराष्ट्रमन्त्री आरजु राणालाई भेट्न खोजेका अर्यालले समय पाएका थिएनन्।