ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी
काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनमा सहभागिता जनाएका छन्। उनी भारतको राजधानी नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ गठबन्धन सम्मेलनमा सहभागी भएका छन् ।
मन्त्री खड्का उक्त सम्मेलनमा भाग लिन आइतबार नयाँदिल्ली प्रस्थान गरेका हुन् । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२१) को २१औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएअनुसार उक्त गठबन्धनको सातौँ सम्मेलनमा मन्त्री खड्का सहभागी भएको विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिए।
कोप–२१ सम्मेलनमा भाग लिएका करिब एक सय २० राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवद्र्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए । उक्त सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुने महानिर्देशक सिंहले बताए । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्ष, सह–अध्यक्ष, महानिर्देशकलगायत पदसहितको नयाँ कार्यसमिति चयन गरिने छ ।
सम्मेलनले जलवायु परिवर्तन कम गर्न नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिमा पेस गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनमा सहयोग पुग्ने महानिर्देशक सिंहको भनाइ छ । सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यको लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रतिबद्धताअनुरुप सौर्यजस्ता स्वच्छ ऊर्जाको अधिकतम विकास एवं प्रवद्र्धनबाट स्वच्छ ऊर्जा सङ्क्रमण कार्यान्वयनमा सहयोग पुग्नेछ ।