Nic Ad Nic Ad
Nic Ad Nic Ad

लोक आस्थाको पर्व छठ सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ : मुख्यमन्त्री सिंह

सोमबार, कात्तिक १९, २०८१

जनकपुर- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लोक आस्थाको पर्व छठ सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भएको बताएका छन् । 

धनुषा चेम्बर अफ कमर्सद्वारा जनकपुरधाममा आज आयोजित छठ लक्षित विपन्न व्रतालुहरूलाई पूजा सामग्री वितरण कार्यक्रममा उनले सबै खाले भेदभावविरुद्ध सद्भाव र प्रकृतिका विभिन्न जीवनदायिनी तत्वप्रति आस्थाको अभिव्यक्ति छठ पर्व भएको धारणा राखे । मुख्यमन्त्री सिंहले एकता, सद्भाव र सहिष्णुताबाट छठ पर्वमा विपन्न व्रतालुहरूलाई नयाँ पहिरन तथा पूजा सामग्री वितरण गर्ने परम्परालाई निरन्तरता दिएकामा आयोजक संस्थालाई धन्यवाद दिए । 

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जनकपुरधामको छठ पर्व मौलिक र विशिष्ट रहेको बताए । उनले यसलाई थप आकर्षक बनाउन जनकपुरधामको सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिए । “चाडपर्वमा सरसफाइमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ । हामीले प्रदेश सरकारसँग समन्वय गरेर जनकपुरधामको सरसफाइसम्बन्धी योजना कार्यान्वयन गर्ने तयारी गरेका छौँ, त्यसपछि भने यहाँको अवस्था थप सुधार हुनेछ”, नगरप्रमुख साहले भने ।

कार्यक्रममा जनकपुरधामका पूर्वप्रमुख बजरंगप्रसाद साह, जनकपुर उद्योग वाणिज्य सँगका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीलगायतले आआफ्ना धारणा राखेको थियो । कार्यक्रममा सय जना महिलालाई नयाँ पहिरन र अन्य पूजा सामग्री वितरण गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्