Nic Ad Nic Ad
Nic Ad Nic Ad
अन्वेषण

अध्यक्षमा ‘स्वर्ण जयन्ती’को किर्तिमान राख्ने प्रचण्डको धोको, दुई लाइन संघर्ष चलाएर तेस्रो उत्तराधिकारी

मंगलबार, कात्तिक २०, २०८१

काठमाडौं– माओवादी महाधिवेशनमा नेताहरू जनार्दन शर्मा र बर्षमान पुनःबीच को महासचिव हुने भन्ने ब्यापक चर्चा थियो। यसका निम्ति दुवै नेताले आफ्ना गुटलाई परिचालित गरिसकेका थिए। 

तर, सरप्राइज हुने गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा देव गुरुङलाई सर्वसम्मत गराए। 

प्रचण्डले त्यसबेला पनि आफ्नो पुरानै राजनीतिक शैलीलाई अपनाए। त्यो हो– दुई लाइन संघर्ष। 

माओवादी युद्धकालमा उपाध्यक्षद्वय मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईबीच यस्तै संघर्ष चलाएर कहिले हार्डलाइनर र कहिले सफ्ट लाइनरतिर ढल्किएका प्रचण्डले ३५ बर्षसम्म पार्टी नेतृत्वको अधिपत्य कायम गरिसकेका छन्। 

सम्भवतः प्रजातन्त्र, लोकतन्त्रसहित गणतन्त्र कालसम्म आउँदा यस व्यवस्थाका अन्य पार्टीका अध्यक्षको तुलनामा प्रचण्डले शासनलाई हातमा राखे। 

चीन भ्रमण जाँदा तत्कालिन राजा महेन्द्रलाई राष्ट्रपतिबाट भेटको निम्तो आएको प्रसङ्गमा उत्तर दिएका थिए रे,‘राष्ट्रपति हैन उसको पार्टीको हाइकमान्डसँग भेटौं।’

राजालाई सल्लाहकारले सोधेछन्,‘किन सरकार?’

राजाको उत्तर हुन्थ्यो रे,‘राष्ट्रपति उसको पार्टीले चलाउने पद हो। त्यसैले पार्टी अध्यक्षसँग भेटौं।’

यहि शैलीमा प्रचण्डले नेतृत्वबाट विदा हुने छाँट लिएका छैनन्। नेतृत्व परिवर्तनका प्रश्न जब–जब आउँछन् अनि उनले राजनीतिक लाइनलाई स्पष्टसँग खेल्ने गरेका केही उदाहरण छन्। 

प्रचण्डको कार्यशैलीविरुद्ध तत्कालिन उपाध्यक्षत्रय वैद्य, भट्टराई र नारायणकाजी श्रेष्ठसहित महासचिव रहेका रामबहादुर थापा बादलले बैठक गरेका थिए। त्यो गठजोड भत्काउन पनि प्रचण्डले यस्तै चाल चलेर भट्टराईलाई प्रधानमन्त्री निर्वाचित गराएका थिए। 

जुन बैठक राजनीतिक रुपमा ‘धोवीघाट’ बैठक भनेर बुझिन्छ। 

एमालेसँग एकीकरण गरेर नेकपा बनाएपछि नेतृत्वमा आउनका लागि प्रचण्डले यहि शैली नअपनाएका होइनन्। तर, केपी शर्मा ओली जस्तो भयंकर खेलाडीसँग उनको राजनीतिक लाइन सफल हुन सकेन। 

ओलीसँग मिलेर एकता गरी पार्टी फर्मेशनमा सहमति गरेका प्रचण्डले पछि ओलीविरुद्ध सचिवालयमा बहुमत बनाएर एउटा राजनीतिक प्रतिवेदनका नाममा ‘बम बार्ड दी हेडक्वार्टर’ भनी कदम चलाएका थिए। 

अहिले अझै १५ बर्षसम्म पनि आफू नेतृत्वमा रहन सक्ने संकेत उनले दिएका छन्। त्यसका निम्ति पार्टीमा सशक्त रहेका उपमहासचिवद्वय शर्मा र पुनःसँग दुई लाइन संघर्षको शैली चलाएका छन्। 

‘७० बर्ष पुगें। अहिले पनि मलाई यो सभा देखेर युवा जोस अझ बलियोगरी आएको छ। अझ एक पटक विद्रोहको नेतृत्व गर्न मन छ’, बिरोध सभामा प्रचण्ड गर्जिएका थिए,‘अब विप्लवले भनेजस्तो माओवादी एकता गरी एक पटक मेरै नेतृत्वमा धक्का दिने बेला आयो।’

प्रचण्डको प्रष्ट संकेत थियो अब बिप्लवलाई माओवादी केन्द्रमा बिलय गराउने। त्यसका निम्ति विप्लवलाई टाढा जान नदिन समाजवादी मोर्चा गठन गरी प्रचण्डले त्यहाँ बेरेका थिए। बिप्लव पनि प्रचण्डको त्यो कदमसँग सहमत मात्र भएका छैनन्, उनी नेतृत्वको नेकपाले आधिकारिक निर्णय गरेरै माओवादीसँग मिल्न सक्ने संकेत दिएको थियो। 

उनी नेतृत्वको पार्टीले ०८४ को आम निर्वाचनमा सहभागीता जनाउने निर्णय गरिसकेको छ। विप्लव एक्लै मात्र पनि चुनावमा जान सक्ने अवस्था नभएकाले माओवादीको जनमतलाई आफ्नो मत बनाउन पार्टी विलय गराउनुको विकल्प छैन। यसर्थ, उनको पार्टी माओवादीमा बिलय हुँदा प्रचण्डले सिधा महासचिव पदमा ल्याएर उत्तराधिकारी बनाउने तयारी गरिसकेका छन्। 

अहिलेका महासचिव देव गुरुङलाई उपाध्यक्षमा बढुवा गर्न सक्छन्। 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्