Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेकपा एसले ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने

मंगलबार, कात्तिक २०, २०८१

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले पार्टीले सबै तहका कमिटीमा  ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ ।

सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिइएको हो । पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारी कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।


पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ । कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पार्टीले जनाएको छ ।

नेताहरूको सक्षमता, विगतका कार्यसम्पादनको मूल्याङ्कन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा साङ्गठनिक संरचनामा कार्यविभाजनका लागि गृहकार्य गरेको सचिव पाण्डेले बताए ।  

अध्यक्ष नेपाल विदेश भ्रमणमा रहेकाले उहाँ स्वदेश फिर्ता भएपछि पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकताअनुसार अन्य नेताहरूको कार्यविभाजन गरिने जनाइएको छ ।

पार्टीले समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको सचिव पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्