Nic Ad Nic Ad
Nic Ad Nic Ad

काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न

मंगलबार, कात्तिक २०, २०८१

काठमाडौँ- बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनः निर्माण सम्पन्न भएको छ । गत असोज १२ गते माइखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको माई नगरपालिका-१ र ७ स्थित धोद्रेबेँसीमा चार वटा टावरमा क्षति पुर्‍याएको थियो ।

नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्त रूपमा पुनः निर्माण गरी सोमबार दिउँसो ४ः३० बाट प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् । काम सुरु गरेको १९ दिनमा सम्पन्न गरिएको निजी क्षेत्रका तर्फबाट पुनः निर्माणमा खटिएका ऊर्जा उद्यमी मोहन कार्कीले जानकारी दिए । प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलामका आयोजनाले विद्युत् उत्पादन सुरु गरेका छन् । प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा पुनः निर्माण सुरु गरेका थिए । प्राधिकरणले प्रसारण लाइनका पाट पुर्जा लगायतका सामग्री उपलब्ध गराएको थियो । निजी क्षेत्रका जलविद्युत् आयोजनाले श्रम लागतलगायतका खर्च बेहोरेको जनाएका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएको थियो ।

काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको गोदकबाट झापाको दमक खण्डको धोद्रेबेँसीमा ५०, ५१,५२ र ५३ नम्बर टावरलाई बाढीले क्षति पुर्‍याएको थियो । चार वटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाईपूर्ण रूपमा क्षति पुर्‍याएको थियो । त्यहाँ नयाँ टावर बनाइएको हो । आंशिक क्षति पुगेका ५० र ५३ नम्बरका टावर मर्मत गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्