नामिबियाका लोफ्टी–इटन चितवन राइनोजमा अनुबन्ध
काठमाडौं- नामिबियाका जान निकोल लोफ्टी इटनले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
चितवनले मंगलबार विज्ञप्ति जारी गर्दै एनपीएलको लागि जान निकोल लोफ्टी इटनलाई अनुबन्ध गरेको जनाएको छ ।
चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन् । यसअघि चितवनले मर्च्यान्ट डे ल्याङ, ल्यूक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ ।
बायाँ हाते २३ वर्षीय यी ब्याट्सम्यानले गत फ्रेबुअरीमा नेपालकै कुशल मल्ल नाममा रहेको कीर्तिमान तोड्दै टी–२० आईमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए । अहिले त्यो कीर्तिमान तोडिएको छ र लोफ्टी इटन सबैभन्दा छिटो शतक बनाउने सूचीमा उनी दोस्रो स्थानमा छन् ।
नेपालमा भएको घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलाको खेलमा उनले सो कोसेढुङ्गा पार गरेका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालविरुद्ध खेल्दै उनले ३३ बलमा शतक बनाएका थिए ।
एक बल कम खेल्दै उनले नेपाली अलराउन्डर कुशल मल्लको (हाल सबैभन्दा छिटो शतक बनाउने सूचीमा चौथो स्थानमा) कीर्तिमान तोडेका हुन् । कुशलले गत वर्ष चीनको हान्झाउमा भएको १९औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए । अब दुवैले चितवन राइनोजबाट एनपीएल खेल्नेछन् ।