नेपाली युवाहरूको नजरमा परेकी को हुन् रितु पोर्ना चक्मा ?
काठमाडौ - साफ महिला फुटबल प्रतियोगिताको फाइनल खेलको ८१ औँ मिनेटमा रितु पोर्ना चक्माले गोल गर्दै १५ हजार भन्दा धेरै नेपाली दर्शकलाई स्तब्ध बनाएकी थिइन् । १-१ को बराबरीमा खेलिरहेको नेपाललाई उनको निर्णायक गोलले इतिहास रच्नबाट रोकेको थियो ।
बङ्गलादेशकी रितु साफ महिला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिता कै उत्कृष्ट खेलाडी समेत भएकी थिइन् । २० वर्षकी रितु पछिल्लो समय दक्षिण एसियाली फुटबलमा आफ्नो प्रभाव छाड्न सफल भइरहेकी छिन् । मिडफिल्ड पोजिसनमा खेल्ने रितु मैदानको बायाँ साइडबाट प्रतिद्वन्द्वी पोस्टमा बल बढाउन निकै माहिर छिन् । उनी मैदानमा निकै खतरनाक देखिन्छिन् भने मैदान बाहिर उनको कोमलता र सुन्दरताले निकै फुटबल समर्थकहरू प्रभावित हुने गरेका छन् ।
यही कारण पछिल्लो समय नेपालमा पनि उनका समर्थकहरू बढी रहेका छन् । सामाजिक सञ्जालमा आउने उनका आकर्षक भिडियोहरूले नेपाली फुटबल समर्थकहरूलाई मोहित बनाइरहेको छ । क्यामरामा सहिली र मिजासिलो देखिने रितु अहिले नेपाली चर्चाको विषय बनिरहेकी छिन् ।
कतिले उनलाई हाँसी मजाक गरेर ‘नेपालको पहाडी क्षेत्रको राइनी’ समेत भन्ने गरेका छन् ।
मङ्गोल परिवारमा जन्मेकी रितु बङ्गलादेशको आदिवासी समुदायमा पर्ने गर्छिन् । बङ्गलादेशमा मङ्गोल समुदायको सङ्ख्या निकै कम रहेको छ ।
सन् २००३ मा जन्मेकी रितुले आफ्नो बाल्यकालमा निकै दुख खेपेकी थिइन् । उनी १२ वर्षको हुँदा उनका बुवा बितेका थिए । यसका साथै, सन् २०२२ मा उनले आफ्नो भाइलाई समेत गुमाउन पुगेकी थिइन् । सन् २०२२ को साफ प्रतियोगिताको पाकिस्तान विरुद्धको खेलमा उनले गोल गर्दै उक्त गोल आफ्नो मृत्यु भएको भाइलाई समेत समर्पण गरेकी थिइन् ।
आफ्नो करियरमा विभिन्न बाधा अड्चन खेपे पनि अहिले रितु बङ्गलादेशका लागि निकै महत्त्वपूर्ण खेलाडी भएकी छिन् । बङ्गलादेशको रंगमाटी जिल्लाको काउखाली उपजिल्लामा जन्मेकी रितु आफ्नो फुटबल प्रतिको लगाव र मेहनतका कारण अहिले युरोपियन क्लबहरूको नजरमा समेत पर्न थालेकी छिन् ।