क्यूएफएक्सको मनपरीतन्त्रः ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न गएका दर्शक हिन्दी फिल्म हेरेर फर्किन बाध्य
काठमाडौं– नेपाली सिनेमा राम्रो चलिरहँदा पनि हलवालाको मनपरीतन्त्रका कारण शो कम पाउँदा दर्शक हिन्दी फिल्म हेरेर फर्किन बाध्य भएका छन्।
नेपाली दर्शकले ‘पूर्णबहादुरको सारङ्गी’लाई अधिक रुचाए पनि हलवालाले कम शो दिएर हिन्दी फिल्मलाई चलाइरहेका छन्।
नेपालमा सर्वाधिक मल्टिप्लेक्स क्यूएफएक्सको रहेको छ। उसैले पूर्णबहादुरको सारङ्गीको साटो अहिले प्रदर्शनमा रहेका हिन्दी सिनेमालाई बढी मात्र होइन, प्राइम समयको शो पनि दिएका छन्।
पूर्णबहादुरको सारङ्गीसँगै, १२ गाउँ, छक्कापन्जा ५ र केही हदसम्म सानो संसारले नेपाली फिल्मलाई ह्वात्तै उठ्नेगरी दर्शकको मन तानेको छ। तर, यहि बेला हलवालाले हिन्दी फिल्मलाई महत्व दिएका छन्।
बुधबारदेखि नै शनिबारसम्मका लागि नेपाली दर्शकले पूर्णबहादुरको सारङ्गीको टिकट काटिरहेका छन्। यसको कारण बुधबार कम शो राखिनु पनि हो।
सबैभन्दा ठूलो चेन सिनेमा भएको क्यूएफएक्सले पुल्चोकको लविम मलमा १५ वटा शो दिन सक्ने भए पनि त्यसको २० प्रतिशत अर्थात् ३ वटा शो मात्र पूर्णबहादुरको सारङ्गीले पाएको छ।
यसैगरी सिभिलमा १५ देखाउन मिल्ने छ, जम्मा ५ शो दिइएको छ। ठूलो हलमा ५ मध्य जम्मा २ मात्र पाएको पूर्णबहादुरको सारङ्गीले भक्तपुरमा जम्मा १५ मध्य ६ मात्र पाएको छ।
कहिले फिल्म नचल्ने राइजिङ मलमा भने हल चलाउनका निम्ति चाहिँ १० मध्य ७ र समाखुसीमा १५ मध्य ११ शो दिइएको छ।
त्यहाँमात्र होइन वान सिनेमाले पनि मुख्य समयको शो पूर्णबहादुरको सारङ्गीलाई दिएको छैन। त्यस्ता समयमा हिन्दी फिल्मले स्थान पाएका छन्।
एक दर्शक भन्छन्,‘नेपाली फिल्मको अति नै चर्चा भयो भनेर आएको टिकट नै पाइएन। हाउसफूल छ। अर्को समयको खोजेको आजकै त पाउन मुस्किल छ। फिल्म नै नहुने रहेछ।’