माइतीघरको नाम फेर्दै काठमाडौं महानगर, मौलिक नाम ‘फिब्वः ख्यः’ प्रचलनमा ल्याउने
काठमाडौं- माइतीघरको नाम फेर्दै काठमाडौं महानगरले मौलिक नाम ‘फिब्वः ख्यः’ प्रचलनमा ल्याउने भएको छ । महानगरले काठमाडौं उपत्यकाकै सांस्कृतिक महत्व झल्काउने नाम ‘फिब्वः ख्यः’ प्रचलनमा ल्याउने बताएको हो ।
महानगरभित्रका मौलिक सांस्कृतिक नाम पुनःस्थापना गर्ने अभियानअन्र्तगत महानगरले नाम फेर्न लागेको बताएको छ । “स्थान नाम परियोजनाअन्र्तगत महानगरभित्रका सांस्कृतिक, पुरातात्वतिक र ऐतिहासिक महत्वका मौलिक नामहरु पुनःस्थापना गर्ने तयारी भएको छ,” मेयर बालेन शाहका मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंले भने ।
माइतीघर फिल्म निर्माणका बेला कार्यालय रहेका कारण यो ठाउँको चलनचल्तीको नाम माइतीघर रहन गएको हो ।
२०५७ मा भएको ११औंमा सार्क शिखर सम्मेलनका लागि मण्डला बनाइयो । सँगै माइतीघर पछाडि मण्डला जोडियो । काठमाडौंका तत्कालीन मेयर केशव स्थापितले यो क्षेत्रमा रहेका साना टहरा हटाएर मण्डला बनाउन लगाएका थिए ।
उपत्यकाका नेवारी भाषी समुदायले भने माइतीघर मण्डलालाई ‘फिब्वःख्यः’ भन्ने गर्छन् । माइतीघरमा पहिले बालुवाका साना ढिस्का हुने गर्थे । बालुवाका ढिस्कालाई नेपाल भाषामा ‘फिब्व’ भनिन्छ । नजिकै भद्रकालीमा रहेको सेनाको ब्यारेकभित्र नेवार समुदायले पुजाअर्चना गर्ने ‘फिब्वः अजिमा’को मन्दिर छ । यही कारण माइतीघरलाई अजिमाको चौर भन्ने अर्थमा ‘फिब्वःख्यः’ भन्ने गरिन्छ ।
महानगरले माइतीघरमा फिब्वः अजिमाको चित्र पनि बनाउने बताएको छ । माइतीघरको सडक पर्खालमा उक्त चित्र बनाउन लागिएको महानगरले बताएको छ ।