Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेनीमा ७ जना सडकापेक्षीको उद्धार

बुधबार, कात्तिक २१, २०८१

म्याग्दी- मानव सेवा आश्रमका मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान टोलीले बेनी बजारबाट सात जना सडक आश्रित मानवको उद्धार गरेको छ । गत असोज २६ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका गायिका आनी छोइङ डोल्माको नेतृत्वमा रहेको अभियान टोली मङगलबार बेनीमा आएको थियो ।

टोलीले बेनी बजारबाट सात जना सडक आश्रित मानवको उद्धार गरेर बागलुङ स्थित मानव सेवा आश्रममा लगेका सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताए । टोलीलाई बेनी नगरपालिकाको कार्यालयमा नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले स्वागत गरेका थिए ।

झापाको मेची पुलबाट शुरु भएको अभियान मार्फत बेनीका सात सहित एक सय ६९ जना सडक आश्रित मानवको उद्धार भएको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताए । सडक पेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ ।

मानव सेवा आश्रमको सातवटा प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा छन् । उद्धार यात्राको खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ । आश्रमले आगामी वर्ष अर्थात् २०८२ सालभित्र नेपाललाई सडक पेटी र सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने मानिसहरूको देश निर्माण गर्ने संकल्प गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्