Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाको चुनावी विज्ञापनमा १५ खर्ब खर्च

बुधबार, कात्तिक २१, २०८१

काठमाडौँ —अमेरिकी चुनावका लागि डेमोक्रयाट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारहरूले कुल १० अर्ब ५० करोड डलर (हालको विनिमय दरअनुसार करिब १४ खर्ब ७० अर्ब रुपैयाँ) विज्ञापनमा खर्च गरेको पाइएको छ । डेमोक्य्राक्ट्सले ५.१ अर्ब डलर र रिपब्लिकन्सले ४.१७ अर्ब डलर खर्च गरेका छन् । बाँकी १.३६ अर्ब डलर स्वतन्त्र समूहहरूले चुनावी विज्ञापनमा खर्च गरेको पाइएको छ । 

रेडियो, टेलिभिजन, स्याटलाइट, केबल र डिजिटल विज्ञापनमा यत्तिका रकम खर्च गरिएको विज्ञापन गणना गर्ने संख्या एडइम्प्याक्टको तथ्यांकले देखाएको छ ।

अमेरिकाको नेसनल पब्लिक रेडियो (एनपीआर) ले गरेको विश्लेषणअनुसार सबैभन्दा धेरै पेन्सलभेनियामा उम्मेदवारहरूले विज्ञापनमा पैसा हालेका थिए । अत्यन्तै कडा प्रतिस्पर्धामा रहेको र ‘स्विङ स्टेट’ भनिने अनिर्णीत राज्यमध्ये प्रमुख मानिएको पेन्सलभेनियामा मात्रै १.२ अर्ब डलर खर्चिएर उम्मेदवार एवं दलहरूले विज्ञापन सम्प्रेषण गरेका थिए

पेन्सलभेनियामा डेमोक्य्राक्टसले ६३ करोड ७० लाख डलर र रिपब्लिकन्सले ५४ करोड ३० लाख डलर विज्ञापनमा खन्याएका थिए । राष्ट्रपतिको चुनावी अभियानसँगै सिनेट र हाउसको चुनावका लागि पनि यो राज्यमा कडा प्रतिस्पर्धा छ ।

सिनेट प्रतिस्पर्धामा ३४ करोड ४० लाख डलर खर्च भएको छ । तथापी, सिनेटको चुनावका लागि सबैभन्दा बढी खर्च चाहिँ ओहायोमा गरिएको छ जहाँ करिब ५१ करोड ८० लाख डलरको विज्ञापन बजिसकेको एनपीआरको विश्लेषण छ ।

राष्ट्रपति चुनावका लागि सबै राज्यमा गरेमा ३ अर्ब डलरको विज्ञापन गरिएको तथ्यांक अमेरिकी सञ्चार माध्यमले प्रस्तुत गरेका छन् ।

‘राष्ट्रपतिय चुनावी अभियान मुख्यतया सातवट प्रदेशमा सिमित रहेको देखिन्छ,’ एनपीआरको लेखेको छ, ‘प्रत्येक ५ डलरमध्ये ४ डलर पेन्सलभेनिया, मिसिगन, विस्कन्सिन, जर्जिया, नर्थ क्यारोलाइना, एरिजोना र नेभाडामा खर्च गरिएको छ ।’ प्रतिस्पर्धी राज्यको सन्दर्भमा सन् २०२० को तुलनामा यसपटक राष्ट्रपति चुनावमा गरिएको खर्च उल्लेखनीय भएको एनपीआरको विश्लेषण छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्