काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको संयोजन परराष्ट्र मन्त्री डा. आरजु राणाले गर्ने भएकी छन् । प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्र मन्त्रीले भ्रमणको संयोजन गर्ने भएकी हुन् ।
दुई नेताको निर्देशनअनुरूप बनेको दुई दलीय संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने निर्णय गरेको बताइएको छ । चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।
बैठकले कार्यदलको संयोजन आलोपालो गर्ने निर्णयसमेत गरेको छ जसअनुसार पहिलो एक महिना कार्तिक २१ देखि मंसिर २० सम्म नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन् ।