Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी

ठगी गर्नेहरू नै हुन् ‘जान्ने’हरू, नजान्ने त असन गल्लीमा भरिया छ!

बुधबार, कात्तिक २१, २०८१

पोखरामा तमासा छ। पहिला गरियो, अहिले चलिरहेको छ। जान्नेलाई छान्नेहरूको यो तमासा पनि कम रोचक छैन। राजनीतिक प्रतिशोध लियो भनेर रास्वपा सभापति रवि लामिछानेमाथि भएको न्यायीक हिरासत अनुसन्धान प्रभावित बनाउनका निम्ति निषेधित क्षेत्र तोड्ने। 

‘आई डन्ट केयर पोलिटिकल पर्सनालिटी, आई नो पोलिटिक्स वेल द्यान आरएसपीस क्याडर्स’, यो मेरो भनाई हो। 

पत्रकारिताका दुई दशकका दौरानमा मैले राजनीतिक रुपमा यति स्खलित पार्टी, त्यस पार्टीका सेन्सलेस नेता र सांसद देखेको थिइँन। यसो भन्दा, कांग्रेस, एमाले माओवादीहरु गतिला हुन् भन्ने होइन। 

नेपालीमा उखान छ,‘टुप्पाबाट पलाएकाहरू चाँडै सकिन्छन्।’ यो उखान त्यसै बनेको होइन। हेक्का रहोस् सोबिता गौतमहरूलाई। कानुनको विद्यार्थी भएर कानुनविरुद्ध उफ्रिनका लागि हौसाउने। अनि भिडमा प्रश्न गर्ने– हामीलाई डेट एक्स्पायर भएको अश्रुग्याँस हानियो, यसको जवाफ सरकारले दिनुपर्छ। 

अश्रुग्यासको डेट एक्स्पायर थियो भन्ने तपाईलाई अहिले थाहा भएको कि, कहिले? तपाईका भाषाले राजनीतिक प्रतिशोध साँधिएका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थाहा थियो होला नि? 

कि त्यति पनि थाहा थिएन, सहकारी ठगी प्रकरणमा दिएको बयान जस्तै। खरिदका लागि पहल गरिनु पर्दथ्यो होला नि, किन त्यो रवि लामिछाने अहिलेको रवि लामिछाने होइन? 

चटक बडो मजेदारले फिर्ता हुन्छन्। देखिन्छन्। नागरिकता फर्जीमा दोषी भएपछि जब राजनीतिक पद चिलिम फर्कियो अनि १२ भाईको भाष्य निर्माण गर्दै रविले भनेका थिए,‘फिल्ममा एउटा जोक्कर चाहिन्छ। ऋषि धमला जोक्कर हो। जीबी राईसँग ५ करोड माग्यो। त्यो भिडिओ अहिले पनि दीपक बोहोरासित छ।’

खोई त्यो भिडिओ? जीबी राईसँग धमलाले किन ५ करोड माग्यो? त्यो रविलाई कसरी थाहा भयो? सहकारी अपचलन गरेको थाहा नहुने, ५ करोड मागेको थाहा हुने? दीपक बोहोराको मोबाइल सीज गरी भिडिओ निकालेर ऋषि धमलामाथि पनि कारबाही गरिनुपर्छ, माग्या हो र प्रमाण छ भने। त्यो मोबाइलमा ऋषिको मात्र भिडिओ होला त? 

एउटा कथा सुनेको थिएँ– आफ्नो ज्यान सुँगामा राखेको मनुवाले धेरै गफ दिने र दुख दिने गर्दथ्यो रे। रविको सुँगा दीपक पक्कै हो। दीपकले प्रहरीका हाकिमलाई कसरी थर्काउने गर्दथे भन्ने विषय अलग हिसाबले चर्चा हुन्छ। तर, अहिले जान्नेहरूले दीपक बोहोराको फोन ल्याब टेस्टमा पठाउने हो।

सिधाकुरा छ– परम्परागत राजनीतिबाट फ्रस्टेट भएका जनताको भावनामा बलात्कार गर्ने छुट कथित जान्नेलाई छान्नेका नाममा रास्वपालाई हुँदैन। एक–एक हिसाब किताब, एक–एक जनाको हिसाब किताब चुक्ता हुनुपर्छ। 

नाम स्वर्णिम भएर केही हुन्न। डाक्टर पद लिएर केही हुन्न। राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर दुनियाँ अवसरका चाङ हसुरेर राष्ट्रिय गीतका लेखकको नाम पनि नजान्नेचाहिँ जान्नेलाई छान्ने, अरुचाहिँ बेबकुफ?

स्मरणीय रहोस्– न्यायालय प्रभावित नपारियोस्। राज्य कमजोर नबनाइयोस्। भ्रष्टाचारले आक्रान्त भएको देशलाई उकास्नका निम्ति ठगीको नयाँ धन्दाको खोजबिन हुन दिइयोस्। हिजो सहकारीप्रति रविको चासो थियो र अपचलन गर्न सकिन्थ्यो भन्ने विषयको एउटा प्रमाण दीपक बोहोरा हो।

बोहोरालाई एउटा प्रश्न छाडेर तथ्य सतहमा ल्याउने वाचासहित बिट मार्छु। ‘न्युज २४ टेलिभिजनमा लालीगुँरास सहकारीको प्रोमो बजाएर कार्यक्रममा किन नदेखाएको? कति डिलमा मिल्यो?’ यो उदाहरण मात्र हो, क्रसरको क्रस गर्न बाँकी छ। 

त्यसैले अबोध नेपाली जनताको भावनालाई यसरी खेलिएको छ कि, यो खेल सबैका लागि सस्तो र भावुक जनताका लागि महँगो हुने निश्चित छ। यत्ति भन्छु– ठगी गर्नेहरू नै हुन् जान्ने र त्यस्ता छान्नेहरू, नजान्नेहरू नाम्लाको डाम बोकेर असनका गल्लीमा अहिले पनि भारी बोकिरहेका छन्। यीनिहरुले त्यस्ताको पैसा खाएर नौटङ्की देखाइरहेका छन्।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्