चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह
काठमाडौं -अमेरिकी राष्ट्रपतिय चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले आफ्ना समर्थकका लागि सम्बोधन गरेकी छन् । सम्बोधनका क्रममा उनले राष्ट्रपतिमा रिपब्लिकन पार्टीका ट्रम्पको जीत स्वीकार गर्न आग्रह गरेकी हुन् । ।
चुनावी नतिजापछि हिजो वाङ्गिटन डीसीको हावर्ड विश्वविद्यालयमा भएको सम्बोधनमा उनले आफ्नो आदर्शका लागि कहिल्यै हार नखान समर्थकलाई अपिल गरेको बीबीसीले जनाएको छ ।
उनले अब शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनुपर्ने बताइन् । चुनावमा हार भए पनि आफूले उठाएका मुद्दाका लागि निरन्तर खबरदारी र सङ्घर्ष गरिरहने उनको प्रतिबद्धता छ । ह्यारिसले यसका लागि अभियान नै चलाउने घोषणा गरेकी छन् ।
ह्यारिसले श्रमिक परिवारका लागि खाद्यान्न र आवासको व्यवस्था, समान प्रजनन अधिकार सुनिश्चित गर्ने, रुससँगको युद्धमा युक्रेनलाई निरन्तर सहयोगलगायतका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने बताएकी छन् । ।