Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजीनामा दिएका कोशीका आन्तरिक मन्त्री अधिकारी मानव तस्कर गिरोहकै संरक्षक रहेका आधारहरू

बिहीबार, कात्तिक २२, २०८१

काठमाडौं– पदबाट बुधबार राजीनामा दिए पनि कोशी प्रदेश सरकारका आन्तरिक मामला मन्त्री रहीसकेका लिलाबल्लभ अधिकारी तस्कर गिरोहकै संरक्षक रहेका केही आधार फेला परेका छन्। 

पत्रकार सम्मेलनमा उनले आफूलाई ‘मानव तस्करको गिरोहले उपयोग गर्न खोजेको तर थाहा पाएपछि विमानस्थलबाटै फर्केको’ बताए पनि जापान जाने बेला उनले गरेका विविध प्रकारका असावधानी यसका आधार हुन्। 

मन्त्रीको विदेश भ्रमण प्रदेश मन्त्रिपरिषदको निर्णयसहितको सिफारिसका आधारमा संघीय सरकारले स्वीकृत गर्नुपर्नेमा मन्त्री अधिकारी कुनै प्रक्रिया पुरा नगरी उडेका थिए।

अधिकारीसँगै जापान उडेका खोटाङ घर भएका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो।

पत्रकार सम्मेलन गर्दै कानुनकर्मी समेत रहेका अधिकारीले भने,‘तस्कर गिरोहले मलाई थाहै नदिइ केही व्यक्तिलाई मन्त्रीको सचिवालयका कर्मचारी बनाएर जापान छिराउन खोजेछन्।’ 

अधिकारीले आफूसँगै तीन जना नक्कली कागजात बनाएर जापान जान लागेको थाहा पाएपछि कार्यक्रममा सहभागी नभई उनीहरुलाई पनि लिएर जापानको विमानस्थलबाट नेपाल फर्किएको दाबी गरे पनि उनी आफैं नेपाल फर्किएको नभई जापानको अध्यागमनले नक्कली कागजातको आधारमा जापान जान लागेको खुलेपछि विमानस्थलमै २४ घण्टासम्म रोकेर डिपोर्ट गरेको पाइएको हो।

यो घटनामा संलग्न रहेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ७ जनालाई पक्राउ गरिसकेको छ। उनी सत्तारुढ पार्टीको नेता तथा मन्त्री समेत रहेका कारणले प्रहरीले पक्राउ गरेको थिएन।

अधिकारीका अनुसार उनलाई टोकियोमा हुने सांस्कृतिक कार्यक्रममा निम्त्याइएको थियो। उनले हङकङ पुगेपछि मात्रै गिरोहबारे थाहा पाएको दाबी गरे। तर उनी पनि जापानबाट डिपोर्ट गरिएर फर्किएको उच्च स्रोतहरुले बताएका छन्। 

मुख्यन्त्री हिक्मतकुमार कार्कीको निर्देशनपछि राजीनामा दिएका मन्त्री अधिकारीले आफैंले गल्ती गरेको फिल गरेर नैतिकताको हिसावले राजीनामा दिएको दावी गरेका छन् यद्यपि यस विषयमा प्रहरीले अनुसन्धान जारी राखेको बताइन्छ। 

‘निजी जापान भ्रमणको विषयलाई लिएर केही टिका टिप्पणीहरु बाहिर आए। यो आइसकेपछि आज हाम्रो देशमा एक खाले राजनीतिक नैतिक खडेरीको चर्चा, परिचर्चा भएको समाजमा नकारात्मक चर्चा बढ्दै गएको बेला यस्तो टिप्पणी सुनि–सुनी पदमा बसिरहन मलाई उचित लागेन’ राजीनामापछि उनले बताएका थिए।

तर यस प्रकरणमा मन्त्री संरक्षक रहेको बलियो अर्को आधारचाहिँ मन्त्रालयको लेटरहेडको दुरुपयोगमा बेखबर भएको भन्नु हो। एउटा मन्त्री जस्तो मानिसले जापानको विमानस्थलसम्म पुग्दा त्यस्तो विषय कसरी थाहा पाउँदैनन्? 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्