अन्य जिल्लामा पनि ‘चेन’ देखिएपछि एसपी र इन्स्पेक्टर जोडिएको हनिट्रयापको फाइल सीआईबी पुग्यो
काठमाडौं– जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रधान कार्यालयले एसपी कमल थाहा र इन्स्पेक्टर बिनुकुमारी शाही जोडिएको हनिट्रयाप प्रकरणको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीलाई बुझाएको छ।
अब यस प्रकरणलाई सीआईबीले तिव्रताका साथ अनुसन्धान गर्नेछ। सीआईबीले मंगलबारदेखि नै अनुसन्धान सुरु गरिसकेको छ। यसमा ललितपुर परिसर र प्रधान कार्यालयले तय गरेका छानबिन समितिको प्रतिवेदनसहित अनुसन्धानका प्रगतिका फाइललाई आधार मानेर सीआईबीले अनुसन्धान गर्नेछ।
सीआईबी उच्च अधिकारीका अनुसार यस प्रकरणको चेन अन्य जिल्लामा पनि देखिएपछि अनुसन्धानको जिम्मा लिइएको हो।
असोज ६ गते प्रहरी प्रभाग, भैंसेपाटीमा इन्स्पेक्टरकै संलग्नतामा प्रहरी चौकीमा लेनदेन भन्दै ललितपुर प्रहरी परिसरका अधिकारीहरुसमक्ष सूचना पुगेको थियो। त्यसपछि ललितपुरका एसएसपी शेखर खनालले सबैलाई कार्यालयमा बोलाएर छानबिन थालेका थिए।
त्यसक्रममा इन्स्पेक्टर शाहीको पनि शंकास्पद भूमिका देखिएको थियो। पक्राउ पूर्जी जारी भएपछि शाही फरार छिन्। ललितपुर प्रहरीको छानबिन समितिको जाँचका क्रममा शाहीलाई प्रकरणका आरोपी ताज इस्लामसँग एसपी कमल थापाले चिनजान गराइदिएको भेटिएको थियो।
एसपी थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा रहँदैबाट इस्लामसँग परिचित थिए। इस्लाम राष्ट्रिय अनुसन्धान विभागबाट कारबाहीमा परेका र यसअघि पनि आपराधिक विषयमा पक्राउ गरिएका व्यक्ति हुन्। अनुसन्धानका क्रममा एसपी थापाको इस्लामसँग पटकपटक भेटघाट र कुराकानी हुने गरेको समेत भेटिएको थियो।
यसैबीच यहि समूहका इस्लामसहित अन्यले दरबारमार्गमा पनि हनि ट्रयापको उजुरी गर्न लगाई रकम असुल गरेको विषय घटनासँग जोडिएको छ। अनुसन्धानका क्रममा यसबाहेक अन्य जिल्लामा पनि यस प्रकारका घटना भएका कारण छानबिनका लागि सीआईबीलाई फाइल जिम्मा लगाइएको हो।
इस्लाम जोडिएको हनिट्रयाप प्रकरणमा ललितपुरमा ३० लाख र दरबारमार्गमा १७ लाख रकम लिएको यसअघि नै खुलासा भइसकेको थियो।