Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रम्पको उदय, सुनको मूल्य गिरावटः कहिलेसम्म घट्दैछ सुनको मूल्य, कारण यस्ता छन् 

बिहीबार, कात्तिक २२, २०८१

काठमाडौं– नेपालमा १ लाख ७१ हजार पुगेको सुनको मूल्य बिहीबार १ लाख ६४ हजार ५०० रुपैयाँ प्रति तोलामा गिरेको छ। यसलाई अमेरिकामा भएको मतगणनाबाट ४७औं राष्ट्रपतिमा डोनल्ड ट्रम्पको बिजयलाई लिएर हेरिएको छ। 

सुनको भाउ बढ्नुका अनेक कारण आँकलन गरिएका छन्। घट्नुमा भने ट्रम्पको उदय पनि एउटा कारण मानिन्छ। किनभने डेमोक्रेटिकको नीतिभन्दा ट्रम्पको नीति यसमा प्रभावकारी देखिने विश्लेषकहरू बताउँछन्। 

अन्तर्राष्ट्रिय जगतमा छिटो हस्तक्षेप गर्नुभन्दा पनि ‘मेक अमेरिका ग्रेट अगेन’ अर्थात् अमेरिकालाई फेरि महान् बनाउने ट्रम्को नीति हो। अमेरिका पहिलो भन्ने नीतिका कारण उनले विश्व जगतमा तत्काल हस्तक्षेप नगर्ने विश्वासका आधारमा पनि विभिन्न ठूला मुलुकले राखेका सञ्चिती सुनलाई खुकुलो बनाएको हुनसक्ने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा ३० अक्टोबरमा प्रतिऔंस २७८८ अमेरिकी डलर पुगेको सुनको मूल्य अहिले २६५८ अमेरिकी डलरमा आइपुगेको छ। 

नेपालमा बिहेको मौसम सुरु हुन लागेका बेला सुनको मूल्य यसरी गिरावटमा जानुलाई सकारात्मक रुपमा लिइएको छ। यो उपक्रम ट्रम्पले शपथ लिँदासम्मको अवस्थामा रहन सक्ने आँकलन गरिएको छ। 

शपथपछि कार्यभार सम्हालेर उनले विश्व जगतमा कस्तो रणनीति अपनाउँछन् त्यहिअनुसार सुनको मूल्यको घटबढको क्रमलाई बुझ्न सकिनेछ।
पछिल्लो समय सुनको मूल्य बढ्नुमा ब्रिक्स संगठनमा रहेका राष्ट्रले खोजेको डलरको विकल्प पनि मानिन्छ। 

चीन, भारत, रुस, ब्राजिल, दक्षिण अफ्रिकालगायत देशले पछिल्लो समय डलरको विकल्प खोज्ने प्रस्ताव गरेका थिए। यसो हुँदा ति देशले सुन सञ्चिती बढाएका छन्। 

युक्रेन युद्धपछि रुसले डलरमा अन्तर्राष्ट्रिय कारोबार गर्नै छाड्नु पनि एउटा प्रमुख कारण मानिन्छ, सुनको मूल्य बढ्नु। ट्रम्पको उदयले रुसले डलरको कारोबार खुला गर्न सक्ने अनुमान गरिएको छ। किनभने ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमर पुटिनको सम्बन्ध प्रगाढ रहेको पनि मानिन्छ। 

रुसले सुन र बिटक्वाइन लगायत क्रिप्टोकरेन्सीको माध्यमबाट रुसको बाह्या अर्थतन्त्र धानिइरहेको बताइन्छ।

चीन र अमेरिकाबिच पनि अहिले धेरै राम्रो सम्बन्ध छैन। यो सम्बन्ध बिग्रिएको ट्रम्पको अघिल्लो कार्यकालमा भएको व्यापार युद्धदेखि नै हो। यसकारण चीनले सुन सञ्चितीलाई खुला गर्छ भन्नेमा ट्रम्पको उदय मान्न नसकिने बताइन्छ।

अब हेर्नुछ, ट्रम्पले विश्व शक्ति राष्ट्रसँग कस्तो व्यवाहार देखाउँछन्। अर्थ कुटनीतिलाई कुन हिसाबले अगाडि बढाउनेछन्। त्यसैमा निर्भर हुनेछ, सुन र डलरको मूल्य।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्