मन्त्री बनेर प्रहरीको सलामी भ्याएका मनाङे कहाँ लुकेका छन्? चक्रे मिलन टिकटकमा भेटिन्छन्
काठमाडौं– २० बर्षअघि काठमाडौंको गुन्डागर्दीमा राजीव गुरुङ उर्फ दीपक मनाङे र चक्रे मिलन भनिने मिलन गुरुङको दुई समूहको नाम बिख्यातीमा रहने गरेको थियो।
अपराध, जेलसँग यी दुवै पात्रको सन्निकट नाता हुने गर्दथ्यो। तर, समयसँगै दुवै जनाले राजनीतिक बाटो समाते। मनाङे नेपाली कांग्रेस हुँदै पछिल्लो पटक नेकपा एकीकृत समाजवादीमा समेत पुगेर स्वतन्त्र थिए भने चक्रे अहिले पनि एमालेमा नै रहेका छन्।
तर, चक्रेलाई एमालेले उम्मेदवारका रुपमा निर्वाचित गराएर सार्वजनिक पदमा भने लगेको छैन। ‘प्रयास नभएको होइन गोरखाको प्रदेश सभामा तर त्यहाँ उनलाई अहिले नै जाने वातावरण एमालेले बनाएन’, एक नेता भन्छन्।
मनाङबाट दुई पटक प्रदेश सभामा जित निकालेर गण्डकी प्रदेश सरकार बनाउने र ढाल्ने प्रमुख पात्र बनेका मनाङे पटक–पटक मन्त्री बनी प्रहरीको सलामी समेत भ्याउनेमा पर्छन्।
अहिले मनाङे त्यहि प्रहरीबाट भागिरहेका छन्। कारण हो, सर्वोच्च अदालतले गरेको फैसला। फैसाल फेरि उनै चक्रेसँग जोडिएको प्रकरणमा आएको थियो।
मनाङेलाई सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएसँगै उनको प्रदेशसभा सदस्यको पद र राजनीतिक भविष्य डामाडोल हुने अवस्था आएको छ।
मनाङेविरुद्ध चक्रेमाथि विसं २०६१ मा काठमाडौंको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दा दायर भएको थियो।
मनाङेहितको समूहले २०६१ साल वैशाख ३१ गते एउटा रेस्टुराँमा खाना खाँदै गरेका मिलन गुरुङको समूहमाथि आक्रमण गरेको उजुरी परेको थियो।
मनाङेको समूहले ज्यान लिने उद्देश्यले आक्रमण गर्दा आफ्ना पति मिलन गुरुङको बायाँ हात छिनालिदिएको भन्दै चक्रेकी पत्नीले प्रहरीमा उजुरी दिएकी थिइन्।
तर मनाङेले घटना भएको समयमा आफू वीरगन्जमा रहेको दाबी गर्दै त्यहाँको एक अस्पतालमा उपचार गरेको भन्ने चिकित्सकको बकपत्र अदालतमा पेस गरेका थिए। सर्वोच्च अदालतले त्यसलाई इन्कार गरी फैसला सुनाएपछि अहिले मनाङे प्रहरीको खोजीको सूचीमा छन्।
प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएको व्यक्ति चुनाव लड्न नपाउने उल्लेख छ। यस हिसाबले मनाङे अब निर्वाचन लड्न पनि अयोग्य हुने कानुनविद बताउँछन्।
सदस्य हुन अयोग्य रहने सम्बन्धमा भने नेपालको संविधानको धारा १८० मा भने धारा १७८ बमोजिम योग्यता नभएमा वा नरहेमा भन्ने उल्लेख छ।
प्रदेश सभा सदस्य निर्वाचन ऐनको दफा १३(६) मा पनि पाँच वर्ष वा सोभन्दा बढीको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति उम्मेदवार नै हुन नपाउने उल्लेख गरेको छ।
मनाङे अहिले कहाँ छन् भन्ने पत्ता नलागिसकेको अवस्था भए पनि चक्रेचाहिँ सामाजिक सञ्जालका विभिन्न प्ल्याटफर्ममा भेटिन्छन्। उनी टिकटकमा मिलन चक्रेको नाममा विभिन्न पार्टी, समूहगत नाचगान, सार्वजनिक स्थानमा समाज सेवा गरेका भिडिओमा भेटिने गरेका छन्।