नेभिगेशन
समाज विविध

उर्जा राज्यमन्त्री तामाङको ‘कान्छाराम’ कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्स्ट्रक्शनसहित १८ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ।   

रामेछापबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित कांग्रेस नेता एवम् राज्यमन्त्री तामाङको कम्पनी २ वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखेको हो।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम शुक्रवारदेखि लागू हुने गरी कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने बिहीबार निर्णय भएको कार्यालयले जनाएको छ।

अरू थप दुई कम्पनीलाई दुई वर्ष, ३ कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ। रमिला लामाको एनबी कन्स्ट्रक्सन, टेन्डी शेर्पाको द कञ्चनजङ्घा कन्स्ट्रक्सन र सुबित श्रेष्ठको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा राखिएको छ। 

रसुवाको नौकुण्ड गाउँपालिकाको सिफारिसमा बुद्धिमान गोले मुख्य व्यक्ति रहेको बीजी निर्माण सेवा प्राली पोखरा पनि कालोसूचीमा परेको छ। इलामस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा गजेन्द्रप्रसाद पौडेल मुख्य व्यक्ति रहेको पूजा कन्स्ट्रक्सन धनकुटा र जयप्रकाश साह हलवाई मुख्य व्यक्ति रहेको साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन्।

कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीले कालो सूचीमा राखिएको समयावधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्।

462560514_1468279347196975_8646557537951537038_n-1731041311.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता