Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्र प्रहरी र राजश्व अनुसन्धानको टोलीमाथि रुन्देहीमा आक्रमण

शुक्रबार, कात्तिक २३, २०८१

काठमाडौं– सशस्त्र प्रहरी बलको एक टोली र राजश्व अनुसन्धान कार्यालयको टोलीमाथि विहीबार साँझ रुपन्देहीको लुम्बिनी नगरपालिका–२ मुजहनामा आक्रमण भएको छ। 

सीमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि एक समूहले आक्रमण गरेको हो। 

तस्करीको ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा एक समूहले  ढुंगामुढा गरेर अवरोध गरेको थियो। प्रहरीले भने तस्करहरुको समूहले चिनी लुटपाट गर्ने उद्देश्यले ढुंगामुढा गरेको दाबी गरेको छ।

अवैध रुपमा नेपाल छिराएर चिनी भण्डार गरी राखेको सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो। सो टोलीले मुजहनाका ३२ वर्षीय दिलिप लोधको घरमा खानतलासी गरी ११२ बोरा चिनी नियन्त्रणमा लिएको थियो।

सय जनाभन्दा बढीको समूहले आक्रमण गरेपछि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापामगर नेतृत्वको ७० जनाको थप फोर्स झिकाइएको थियो।

सशस्त्रको थप टोलीले बाटो अवरोध गर्ने समूहलाई तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएको थियो। त्यसपछि बरामद चिनी सहित सवारी साधनहरु राजस्व अनुसन्धान कार्यालय बुटवलमा ल्याइएको बताइएको छ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्