मिडियाबाट तारान्तार फोन आएपछि मोबाइल स्विच्ड अफ गरेंः दीपक मनाङे (विज्ञप्तिसहित)
काठमाडौं– मनाङ ‘ख’बाट निर्वाचित प्रदेश सभा सदस्य तथा गण्डकीका पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले केही मिडियाले तारान्तर फोन गरेपछि मोबाइल स्वीच्ड अफ गरेको बताएका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यसो गरेको विषयलाई समाचार बनाएर प्रकाशित गरेको विषयमा उनले आपत्ति जनाएका छन्। सर्वोच्च अदालतको फैसलाको विषयमा आफूले अहिले फैसलाको प्रतिलिपि नपाएको समेत उनले खुलाएका छन्।
उनले फैसलाको पूर्णपाठ आएपछि आफैं अदालतमा उपस्थित हुने पनि विज्ञप्तिमार्फत खुलाएका छन्।
मनाङेलाई सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएसँगै उनको प्रदेशसभा सदस्यको पद र राजनीतिक भविष्य डामाडोल हुने अवस्था आएको छ।
मनाङेविरुद्ध मिलन गुरुङ भनिने चक्रे मिलनमाथि विसं २०६१ मा काठमाडौंको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दा दायर भएको थियो।
मनाङेहितको समूहले २०६१ साल वैशाख ३१ गते एउटा रेस्टुराँमा खाना खाँदै गरेका मिलन गुरुङको समूहमाथि आक्रमण गरेको उजुरी परेको थियो।
मनाङेको समूहले ज्यान लिने उद्देश्यले आक्रमण गर्दा आफ्ना पति मिलन गुरुङको बायाँ हात छिनालिदिएको भन्दै चक्रेकी पत्नीले प्रहरीमा उजुरी दिएकी थिइन्।
तर मनाङेले घटना भएको समयमा आफू वीरगन्जमा रहेको दाबी गर्दै त्यहाँको एक अस्पतालमा उपचार गरेको भन्ने चिकित्सकको बकपत्र अदालतमा पेस गरेका थिए। सर्वोच्च अदालतले त्यसलाई इन्कार गरी फैसला सुनाएपछि अहिले मनाङे प्रहरीको खोजीको सूचीमा छन्।