निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा भित्रिए केदार
काठमाडौँ - दीपकराज गिरी र दीपाश्री निरौलाको समूहका कलाकारको छवि बनाएका केदार घिमिरे (माग्ने बुढा) ले धमाधम बाहिरी फिल्ममा काम गरिरहेका छन् ।
गत वर्ष फिल्म ‘कङ्गारु’मा भित्रिएका केदारले त्यसपछि ‘जेरी अन टप’ र अब निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा काम गर्न लागेका हुन् । बिहीबार केदार र निर्देशक लामिछानेबीच कागजी सम्झौता भएको छ ।
फिल्मको शीर्ष भूमिकामा केदारले अभिनय गर्नेछन् । अर्को मुख्य भूमिकाका लागि अभिनेता सौगात मल्ललाई प्रस्ताव गरिएको छ । आगामी माघ दोस्रो साताबाट छायांकनको तयारी गरिएको फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । फिल्मलाई निर्देशक समेत रहेका मुनाल घिमिरेले निर्माण गर्नेछन् ।
सामिप्यराज तिमल्सिनाको स्क्रिप्ट लेखन रहेको यो फिल्मबाट निर्देशक लामिछानेले ८ वर्षपछि कमब्याक गर्न लागेका हुन् । ऋषिले यसअघि निर्देशन गरेको फिल्म ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन भएको थियो । उनले ‘हवल्दार सुन्तली’, ‘श्रीमान् श्रीमती’, ‘कहिले मिलन कहिले विछोड’ लगायतका फिल्म पनि निर्देशन गरेका छन् ।