Nic Ad Nic Ad
Nic Ad Nic Ad

म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा-उक सयाडोले गरे लुम्बिनी भ्रमण

शुक्रबार, कात्तिक २३, २०८१

काठमाडौँ -म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा-उक सयाडो भदन्त अचिन्नाले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।

म्यामारका प्रसिद्ध एवम् बौद्ध धर्मका ९१ वर्षीय शिखर धर्मगुरु फा-उक सयाडोले बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरसँगै विहार क्षेत्र एवम् प्राचीन कपिलवस्तु क्षेत्रको भ्रमण गरेका हुन् ।


कार्तिक १८ गते लुम्बिनी आइपुगेका धर्मगुरुले मायादेवी मन्दिरको दर्शनसँगै ध्यान र पूजासमेत गरेका थिए । यसैगरी लुम्बिनी गुरुयोजना क्षेत्रभित्र धर्मगुरुले सालबृक्ष वृक्षारोपण गरेका छन् ।

बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रसँगै धर्मगुरु फा-उकले प्राचीन कपिलवस्तुस्थित बुद्धले ज्ञानप्राप्तपछि प्रथम पटक पिता शुद्धोदनलाई भेट गरेको कुदान निग्रोधाराम, कक्रुछन्द बुद्धको जन्मस्थल गोटिहवा, कनमुनि बुद्धको जन्मस्थल निग्लिहवाको भ्रमण गरेको भ्रमणटोलीका तारा राईले जानकारी दिए ।

यसैगरी धर्मगुरुले बुद्धले ५ सय जना अरहन्त र असंख्या देवताहरूलाई महासम्मयसुत्त उपदेश दिएको महावन जंगलको समेत भ्रमण गरी वाणगंगा नदीको किनारमा पुगेर ध्यान गरेका थिए ।

धर्मगुरुलाई लुम्बिनी र कपिलवस्तु क्षेत्रमा लुम्बिनी विकास कोषका लेखा अधिकृत भिम बस्नेत र सूचना शाखाका विकास लामाले जानकारी दिनुका साथै सहजीकरण गरेका थिए ।

धर्मगुरुलाइ लुम्बिनी बौद्ध विश्वविद्यालयले समेत स्वागत गरेको थियो । ६ दिनको भ्रमण सकाएर धर्मगुरुसहितको टोली शुक्रबार दोलखा फर्किएको छ । त्यहाँ धर्मगुरु फा-उककै नेतृत्वमा धम्मदायाद ध्यान केन्द्र निर्माण गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्