पूर्वआईजी सर्वेन्द्र खनाल अर्थात् गुन्डाहरूको काल, नयाँ नेपाल सोच्ने नेपथ्यको ‘महापाल’
काठमाडौं– नयाँ नेपाल कसरी बन्छ? यो अहम प्रश्नको उत्तर अनेकथरी होला। तर, प्रहरीमा ३० बर्ष सेवा गरी त्यस संगठनको प्रमुख अर्थात प्रहरी महानिरिक्षक (आईजी)बाट सेवा निवृत्त सर्वेन्द्र खनालले दिने उत्तर हो– गुन्डाहरूको अन्त्य।
गुन्डाहरूको अन्त्यको अर्थ हो– समाजको अपराध, अपराधको राजनीतिक पहुँच र राजनीतिको अपराधिकरणको जरै देखिको निर्मूलता। जसले भ्रष्ट बाटोमा हिँड्नका लागि कसैलाई प्रेरित गर्नै सक्तैन।
राजनीतिले अपराधको संरक्षण गरेका कारण नै अहिले देशको स्थितिको गति सुस्त र नेताको मति भ्रष्ट भएको ठान्छन्, खनाल। यसलाई धुमिलबाट सङ्लो बनाउने अभियान कस्तो होला भनेर दुई पटक चुनावी मैदानमा पनि उत्रिए। तर, उनी कमजोर जनमत र नयाँ नामको फैन्सी हुंकारबीच जित निकाल्न असमर्थ भए पनि नयाँ नेपालका विषयमा सोच्न, बोल्न र सकारात्मक उद्वेलनबाट टाढा छैनन्। नेपथ्यमा छन्, नजिक रहेका छन्।
नेपालमा केही नयाँ गर्न सकिन्छ भन्ने उनमा चाहना, भावना र जोस छ।
हुन त नेपाल प्रहरीको अधिकृत तहदेखि नै उनले नेपाललाई कानुनी राज्यको रुपमा कार्यान्वयनमा लैजाने अभ्यास नगरेका होइनन्। ३० बर्षको दौरानमा इन्स्पेक्टरदेखि आईजीसम्म बन्दा जहाँ–जहाँको कमान्डको जिम्मेवारी पाए, त्यहाँ–त्यहाँ चमत्कार नै गरेका पनि थिए।
चाहे त्यो दीपक मनाङे जस्ता गुन्डा नाइकेलाई पक्राउ होस्, अर्कालाई जेलमा राखेर आफू खुलेआम हिँड्ने सिन्धुपाल्चोक रावणजित तामाङलाई काननी कठघरामा उभ्याएर होस्। खनालले केही कसर बाँकी नराखेकै हुन्,‘ल एन्ड अर्डर’ कार्यान्वयनमा।
तत्कालिन समयमा काठमाडौं प्रहरी हनुमानढोकाको प्रमुख रहँदा उपत्यकामा रहेको गुन्डाहरूको जगजीमाथि खनाल धावा बोल्ने प्रहरी अधिकारी बनेका थिए।
‘कानुन कार्यान्वयनको कुरा अलिक चुनौती बनाइदिनेलाई सबैलाई कारबाहीको दायरामा ल्याउनु नै पुलिसिङ थियो, मैले त्यहि काम गरेको हुँ। मेरो जागिर मात्र थिएन, कर्तव्य पनि थियो’, खनाल भन्छन्,‘यतिसम्म थियो कि जेल परेको मानिस अर्कोलाई राखेर आफू बाहिर खुलेआम अपराधको सञ्जाल चलाउँथ्यो, त्यस्तालाई पनि कानुनी दायरामा ल्याएको हो।’
कतिपय प्रकरणमा भने राजनीतिक दल र नेताको बठ्याँईका कारण अपराध गरेर पनि मानिस बाहिर बस्ने कानुनी छिद्र खोजिएको विषय पनि खनाललाई स्मरण हुन्छ। खासगरी अहिले सर्वोच्च अदालतले ५ बर्ष कैद करार गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेको विषय स्मरणमा आउँछ, खनाललाई।
‘फौजदारी अभियोगमा पक्राउ गरी जेलसम्म पर्ने स्थितिमा म दीपक मनाङे होइन, राजीव गुरुङ हुँ भनी निस्किएकोसम्म मेरो स्मृतिमा छ। अहिले तिनै मानिस मन्त्री बनेर हिँडे, प्रहरीले स्यालुट हान्नुपर्ने स्थिति पनि बन्यो’, खनाल भन्छन्,‘राजनीतिक दल र नेताले कस्तो अवस्था बनाएछन् त?’
खनालले जहाँ–जहाँ मौका पाए त्यहाँ राज्य छ भन्ने झल्को देखाए। खासगरी मधेसमा उनको उपस्थिति भूमिगत गिराहेका नाममा अपराध चलाउने, सीमावर्ती क्षेत्रमा गुन्डागर्दी र डकैती चलाउनेका निम्ति खनाल ‘काल’ बने। मधेस आन्दोलनका बेला जगजगी भएको उक्त क्षेत्रमा कोही प्रहरी अधिकारी पनि प्रभावकारी हिसाबले काम गर्न नसक्ने अवस्था रहेका बेला खनालले ‘मोरल’ बढ्नेगरी अप्रेशन चलाए।
‘एक हदसम्म मधेसको सीमावर्ती क्षेत्रमा मैले काम गरेकै हो। मलाई किन–किन अपराध र शान्ति सुव्यवस्थामा खलल पार्नेसँग भित्रैदेखि घृणा लाग्छ’, खनाल सुनाउँछन्,‘त्यसबेलाको मध्यामाञ्चल क्षेत्रीय प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी पाउँदा होस् या नारायणी अञ्चल प्रहरी कार्यालयको प्रमुख हुँदा होस् मैले मधेसको अपराधमाथि धावा बोलिदिएँ।’
यति मात्र होइन जब अपराध महाशाखा प्रमुख भएर खनाल उपत्यका आए अनि फेरि उपत्यकामा जगजगी रहेको गुन्डागर्दीमाथि उनी हावी हुन थाले। सोही क्रममा भएको थियो कुमार श्रेष्ठ घैंटे इन्काउन्टर। यो प्रकरणमा पनि राजनीति गर्न खोजियो तर त्यो लामो जाँदैन थियो भन्ने स्पष्ट नै थियो। बरु यसले केचाहिँ खोल्यो भने गुन्डागर्दीसँग कुन दल कसरी जोडिएको छ भन्ने सतहमा ल्यायो।
आईजी भएपछि खनालले प्रहरीमा संगठनात्मक संरचनादेखि ठूला–ठूला विषयलाई निक्कै विचारणीय हिसाबले नेतृत्वसहित समाधान गरे। जर्जर रहेको संगठनात्मक संरचनालाई लयमा ल्याउने काममा खनालको भूमिका प्रभावकारी रह्यो।
अहिले सक्रिय रहेका मानव बेचबिखन ब्युरो, साईबर ब्युरो उनकै नेतृत्वकालमा स्थापित युनिट हुन्। यति मात्र होइन कसैले छुन नसक्ने राजनीतिक व्यक्तित्वलाई पक्राउका लागि खनालले स्वीकृति नदिएको भए बाहलावाला सभामुखलाई कसैले हेर्न पनि सक्तैन थियो।
तर रोशनी शाही प्रकरणमा तत्कालिन सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरी कानुनी कठघरामा न्यायीक विषयमा उभ्याउने जोखिम खनालले उठाए जबकि सरकार नै एमाले र माओवादीको थियो।
‘राजनीतिमा मान्छे चिढिन्छन् भन्ने कुरा एउटा रहला तर कर्तव्य अनि कानुन कार्यान्वयनमा त हामी सक्रिय नभए को हुन्छ? जसरी प्रहरीमा हुँदा ल एन्ड अर्डर कार्यान्वयनको मभित्रको उर्जा छ, राजनीतिमा पनि त्यो होस् भन्ने चहान्छु’, खनाल भन्छन्।
अब राजनीतिबाट नै समाजमा परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यतामा छन् उनी। एउटा सहज र उर्जाशील बाटोबाट आफूले जानको सीप र अनुभव अनि कानुन कार्यान्वयनको पक्षलाई बलियो बनाउने हो भने परिवर्तन असम्भव छैन भन्ने ठान्छन्, खनाल। उनी भन्छन्,‘विवाद र झूठको राजनीति गरेर छारो हाल्ने प्रकृतिको होइन, विकास अनि कानुन कार्यान्वयनको सवाल, भ्रष्टाचारको भण्डाफोर जस्ता विषयमा निर्भिक बन्ने दल र नेताको खाँचो छ।’
उनको सोच भनेकै नयाँ नेपाल निर्माणको ‘महापाल’ बन्ने प्रकृतिको छ। जसरी उनले प्रहरी संगठनको नेतृत्वमा एउटा अब्बलता देखाए राजनीतिमा प्रवेश गरी देशको नेतृत्व गर्ने अवसर पाए भने नयाँ नेपालको सपनाको रेखाचित्र कोर्न सक्ने आत्मबल खनालमा रहेको पाइन्छ।