Nic Ad Nic Ad
Nic Ad Nic Ad

मंसिर १६ को उपचुनावः स्वतन्त्र बालेनलाई हर्ष न विस्मात्

शनिबार, कात्तिक २४, २०८१

काठमाडौं– स्थानीय तहको उपनिर्वाचनका निम्ति मुख्य दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत लागेका छन्।

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनको साढे २ वर्षपछि देशभरका ४४ रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ।

तर स्वतन्त्र उम्मेदवारी दिएर देशको अग्रणी काठमाडौं महानगरपालिकाका अप्रत्यासित मत ल्याएर जित निकालेका मेयर बालेन शाहलाई यो उपचुनाव हर्ष न विस्मात् जस्तो बनेको छ।

आफ्नै महानगरको वडा नम्बर १६ को रिक्त वडाध्यक्षमा पनि उनले चासो देखाएका छैनन्। 

मंसिर १५ मा हुने उपनिर्वाचनका लागि आगामी मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ। यसका लागि अन्य दलहरू धमाधम उम्मेदवार सिफारिस र घोषणा गरिरहेका छन्।

सातवटै प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा निर्वाचन हुँदैछ।

बालेनको सल्लाहकार समूहका एक जनाका अनुसार स्वतन्त्र रुपमा जित निकालेका कारण उपनिर्वाचनमा ध्यान छैन। बालेनको टिम भनेरै उम्मेदवारी दिइने कुरा पनि नभएको सचिवालयले जनाएको छ। 

यो आवधिक निर्वाचन नभएकाले उम्मेदवारी दिने भन्ने विषयमा मेयर शाहले नसोचेको बुझिएको छ। बालेनले खुलेर कुनै उम्मेदवारलाई समर्थन गर्ने भन्ने पनि नरहेको बताइएको छ।

कतिपयले बालेनले राजनीतिक दल खोल्ने तयारी गरेको चर्चा गरे पनि हालसम्म कुनै तयारी नभएको बताइएको छ। 

गत आवधिक चुनावमा महानगर प्रमुखमा बालेनले ६१,७६७ मत ल्याएका थिए। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले ३८,२४१ मत प्राप्त गरेकी थिइन्।

काठमाडौं महानगरमा ३२ वटा वडा छन्। तर, गत निर्वाचनमा बालेनले प्रमुखमा मात्रै उम्मेदवारी दिएका थिए। 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार