Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेची भन्सार कार्यालय : १० वर्षमा ६६ करोडको सामग्री बरामद

शनिबार, कात्तिक २४, २०८१

भद्रपुर (झापा)- मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको रु ६६ करोड १३ लाख आठ हजार आठ सय २५ बराबरको मालवस्तु बरामद गरेको छ । उक्त मूल्य बराबर मालवस्तु आव २०७१/७२ देखि आव २०८०/८१ सम्मको बरामद भएको हो । 

भन्सार कार्यालयका अनुसार चोरी पैठारी हुने मुख्य माल वस्तुमा रेडिमेड कपडाअन्तर्गत सारी, कुर्ती थान कपडासमेत गरी भाडा वर्तन, किराना सामग्री, मोबाइल, सुर्ती/खैनी रहेका छन् । निकासीतर्फ गाई, बाछा, बाख्रा, सुपारी रहेका छन् ।  यसरी बिल बिजक नभएका निकासी पैठारी भएका मालवस्तु नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले बरामद गरेको कार्यालयका नायब सुब्बा किशोर आचार्यले बताए । 

“यसरी चोरी निकासी र पैठारी भएको मालवस्तुसँग सम्बन्धित गत एक दशकको समयमा पाँच हजार एक सय ८३ वटा भन्सार कार्यालयमा मुद्दा दर्ता भएका छन्”, उनले भने । प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार तिहारको समयमा भन्सारबाट प्लास्टिकका माला तथा फूल ल्याउन पूर्ण रूपमा प्रतिबन्ध लगाए पनि बजारमा सबैतिर उपलब्ध थिए । “भन्सारबाट एउटा प्लास्टिकको माला पनि नआउँदा बजारमा कहाँबाट त्यति ठूलो परिणाममा माला आयो यो सबै अवैध रूपमा पैठारी भएको हो”, उनले भने । भारतसँगको खुला सीमाका कारण दैनिक रूपमा मालवस्तु अवैध रूपमा निकासी पैठारी हुने गरेको प्रमुख भन्सार अधिकृत चुडालको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्