गगन थापा भन्छन्ः सहकारी होस् कि मानव तस्करी, गल्ती गर्नेले सजाय भोग्नुपर्छ
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मानव तस्करी प्रकरणमा मुछिएका कोशीका पूर्वमन्त्रीसमेतलाई संकेत गरी कानुनी दायरामा आउनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल एक्समा उनले शनिबार यस्तो लेखेका हुन्।
कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने कानुनी शासनको मान्यता उल्लेख गर्दै थापाले लेखेका छन्,‘कानुनविपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनुपर्छ।’
थापाले अगाडि लेखेका छन्,‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ। गल्ती गर्नेले सजाय भोग्नुपर्छ।’
सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ भन्दै उनले भनेका छन्,‘कुनै पनि व्यक्तिलाई राज्यले ‘सेलेक्टिभ’ ढङ्गले हेर्न पाइँदैन। यो विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो। म यो मान्यतामा अटल विश्वास गर्छु। त्यसैले बन्द कोठाको बैठकमा होस् कि सार्वजनिक स्थानमा होस्, पार्टी सरकारमा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस् मेरो यो मान्यता र विश्वास बदलिँदैन।’