Nic Ad Nic Ad
Nic Ad Nic Ad

फेरि पनि कृषि विकास बैंकमा ह्याकरको आक्रमणः ओलम्पियन विष्ट जोगिए, जनप्रतिनिधिको तीन लाख चोरियो

शनिबार, कात्तिक २४, २०८१

काठमाडौं– कृषि विकास बैंकमा रहेका सर्वसाधारणका खातामा ह्याकरहरूले आक्रमण गरी रकम चोरी गर्न थालेका छन्। यस्तो आक्रमणको शिकार बनेका छन् नागार्जुन नगरपालिकाका एक जनप्रतिनिधि। 

कृषि विकास बैंकमा रहेको खाताबाट ह्याकरले अनलाइन ट्रान्सफर गरी पैसा चोरी गरेका हुन्। बैंकको आइटी शाखाबाट अनलाइन बैंकिङ सिस्टम अपडेटका लागि भन्दै ह्याकरले खाता नम्बर र जन्म मिति मागेका थिए। 

विश्वास गरेर उनले खाता नम्बर र जन्ममिति मात्र होइन ओटिपी समेत टिपाए। त्यसको केही समयमै उनको खाताबाट तीन लाख रुपैयाँ अन्यत्र ट्रान्सफर भएको हो।

चार वटा बैंक खाता हुँदै पछि आईएमईबाट सो रकम निकालेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले घटनाको अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा अर्काको नागरिकताको फोटोकपीका आधारमा सो व्यक्तिले सिम कार्ड निकालेर त्यसबाट खाताधनीलाई फोन गरेको देखिएको सीआईबी प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए। 

शुक्रबार ओलम्पियन दीपक विष्टको खातामा पनि आक्रमण भएको थियो। ओटीपी नम्बर माग गरेपछि आफू चनाखो भएर सोधीखोजी गरेपछि ह्याक हुन लागेको चाल पाएको भनी सामाजिक सञ्जालमा भिडिओ नै राखेका थिए। 

पछिल्लो समय कृषि विकास बैंकका खाताधनीलाई लक्षित गरी यसरी खाताबाट पैसा चोर्ने घटना बढेको प्रहरीले जनाएको छ। बैंकबाट भन्दै खाता नम्बर, ओटिपीलगायत विवरण माग्ने र ह्याक गरेर पैसा चोरी हुने गरेको भनी सजग रहनका लागि शुक्रबार सीआईबीले सूचना जारी गरेको थियो।

कृषि विकास बैंकको खातामा आक्रमण भएको यो पहिलो पटक होइन, यसअघि पनि सर्वसाधारणको खातामा आक्रमण गरी करोडौं रकम बैंकबाट यसरी नै निकालिएको प्रकरणमा उपत्यका अपराध महाशाखाले अनुसन्धान गरी पत्ता लगाएको थियो। फेरि उस्तै प्रकरणको घटना सुरु भइसकेका छन्। 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्