भाषाको संरक्षण घरबाटै हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौ -सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताएका छन् ।
तमु विद्यार्थी छोंज धींको आजदेखि दमौलीमा सुरु भएको बाह्रौँ महाधिवेशनको उद्घाटन गर्दै उनले भाषा लोप भए संस्कृति पनि लोप हुने भएकाले भाषा, संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताए ।
मन्त्री गुरुङले घरबाटै आफ्नो भाषामा बोल्ने संस्कृतिको विकास गर्नसकेमा भाषाको संरक्षणमा योगदान पुग्ने भन्दै छोराछोरीसँग बोल्दा आमाबाबुले मातृभाषामा बोल्नुपर्नेमा जोड दिए । सरकारका प्रवक्ता मन्त्री गुरुङले गुरुङ जातिको मात्र नभइ हरेक जातजातिको भाषा संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
उनले युवाहरू स्वदेशमै बसेर काम गर्नुपर्ने र त्यसका लागि आत्मनिर्भर बन्ने बाटोतर्फ अगाडि बढ्नुपर्ने धारणा राखे । ‘देशमै बसेर केही गर्न सकिन्छ भन्ने भावना बोकेर अगाडि बढ्न युवालाई मेरो आग्रह छ । त्यसका लागि प्राविधिक शिक्षा पढ्न आवश्यकता छ, जसले आफ्नो खुट्टामा उभिन सघाउ पुग्नेछ’, मन्त्री गुरुङले भने ।
एकअर्को प्रसङ्गमा उनले नेपालको निजामति, सुरक्षा निकाय, बैङ्किङलगायत सबै क्षेत्रमा गुरुङ समुदाय पछाडि परेको र यसमा लाहुरे संस्कृति बाधक रहेको जिकिर गरे । मन्त्री गुरुङको भनाइ थियो, ‘लाहुरे संस्कृतिले राज्यका निकायमा प्रतिनिधित्व कमजोर बन्यो । यस विषयमा गम्भीर भएर सोचौँ र गुरुङ जातिका सङ्घसंस्थाबाट आएका व्यक्ति नेपालको राष्ट्रिय राजनीतिमा आउनुपर्छ । यी सङ्घसंस्था हाम्रा शक्तिकेन्द्र हुन्, यहाँबाट उत्पादन भएका हरेक व्यक्ति नेपालको राजनीतिमा आउन सक्नुपर्छ । तमु विद्यार्थी सङ्गठनमा रहेका युवाले देशको प्रधानमन्त्री, मन्त्री, सचिव बन्ने सपना देख्नुपर्छ ।’