म्याग्दीको टिमुर तारे होटलदेखि विदेशसम्म
म्याग्दी - यहाँ उत्पादित टिमुर सहर बजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो ।
रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । टिमुर व्यवसाय गर्दै आएका बेनी नगरपालिका-९ तोरीपानीका सागर बानियाँले यहाँ उत्पादित टिमुर स्वदेशका साथै विदेशबाट पनि माग आएको बताए ।
“विभिन्न देशमा रहेका नेपालीले जन्मथलो आउँदा र आफन्तमार्फत उपभोगका लागि टिमुर लैजानुहुन्छ । पछिल्लो समय व्यावसायिक रूपमा माग आउन थालेको छ”, उनले भने, “खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा परीक्षण गरेर उपभोगयोग्य प्रमाणित गरिएको टिमुर विदेश पठाउने गरेका छौँ ।”
बेनी-९ घतानको फरक फरक ठाउँमा उत्पादन भएको २० किलो काँचो र दुई किलो सुकाएको टिमुर परीक्षणका लागि गत साता काठमाडौँस्थित गुण नियन्त्रण विभागको प्रयोगशालामा पठाएको बानियाँले जानकारी दिए । प्रयोगशालाको प्रतिवेदन आएपछि बिक्री गर्ने तयारी भइरहेको भन्दै उनले अहिले यहाँका किसानले उत्पादित टिमुर टिप्न थालेको बताए ।
गत वर्ष घतानमा उत्पादन भएको एक हजार छ सय किलो टिमुर प्रतिकिलो रु. तीन हजारका दरले बिक्री भएको थियो । योमध्ये विदेशी बजारमा करिब दुई सय किलो बिक्री भएको बानियाँले बताए । धेरैजसो टिम्मुर मुस्ताङका होटल सञ्चालकहरूले अग्रिम भुक्तानी गरी खरिद गर्ने गरेका छन् ।
घतान क्षेत्रमा यस वर्ष करिब दुई हजार किलो टिमुर उत्पादन हुने अनुमान गरिएको भूमेसिद्ध टिमुर सञ्जालले जनाएको छ । बेनी-९ ढावाका नरबहादुर राईले रु. २० हजारको टिमुर बिक्री गरिसकेको जनाउँदै थप रु. ४० हजार बराबर फल बिक्रीका लागि तयार भएको बताए ।
“खेतबारीमा निजी प्रयोजनका लागि रोपेको टिमुरको दाना बेचेर आम्दानी हुन थालेपछि यहाँका कतिपय किसानले व्यावसायिक उत्पादन पनि थालेका छन्”, किसान राईले भने, “फलाउन र टिप्न सक्नुपर्यो, टिमुर बिक्रीका लागि बजारको समस्या छैन, घरबाटै बिक्री हुन्छ ।”
बेनी–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० परिवारले व्यावसायिक टिमुरखेती गरिरहेका छन् । म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुरखेती भइरहेको डिभिजन वन कार्यालयका वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिए । “बेनी-९ जिल्लामा बढी टिमुरखेती हुने स्थान हो”, उनले भने, “म्याग्दीमा हाल वार्षिक करिब छ मेट्रिकटनको हाराहारीमा टिमुर उत्पादन हुने गरेको हाम्रो तथ्यांक छ ।”
पहिलाका वर्षमा साउन, भदौमा टिमुर टिप्ने किसानले पछिल्ला केही वर्षदेखि गुणस्तरीय उत्पादनका लागि कात्तिकको अन्तिम सातादेखि टिप्ने गरेका छन् । अनुकूल मौसम भएको र फूल खेल्ने समयमा असिना नपरेकाले यसपाली टिमुरको उत्पादन दोब्बरले बढेको ढावाकी जमुना राईले बताए । “एउटै रूखमा दुई किलोसम्म टिमुर फलेको छ”, उनले भने, “यसपाली छ किलो बिक्री गर्ने तयारी गरेकी छु ।”
पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घर खर्च चलाउन सहयोग पुगेको किसान बताउँछन् । “काँडाधारी रूख हुने भएकाले टिमुरको फल टिप्न दुःख हुन्छ । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नै नासिने जोखिम पनि हुन्छ”, किसान राईले भने ।
भूमेसिद्ध टिमुर सञ्जालमा आबद्ध किसानलाई दुई वर्षअघि लुपथान्सा एयरलाइन्सले इको हिमाल अस्ट्रिया र इको हिमाल नेपालले टिमुर टिप्न र बोट काँटछाँट गर्न जर्मनीमा विकास भएको ४० थान सिकेचर र आरा उपलब्ध गराएको थियो । डिभिजन वन कार्यालयले टिमुर प्रशोधन गर्ने औजार उपलब्ध गराएको छ ।
जिल्लामा टिमुरखेती विस्तार गर्न डिभिजन वन कार्यालय, भू-तथा जलाधार संरक्षण कार्यालय, स्थानीय तह र विभिन्न संघसंस्थाले बिरुवा वितरण गर्दै आएका छन् । डिभिजन वन कार्यालयले गत वर्षमा २० हजार टिमुरका बिरुवा निःशुल्क वितरण गरेको थियो । जिल्लास्थित उद्योग वाणिज्य संघले टिमुरलाई जिल्लाको प्रमुख उत्पादनका रूपमा प्रवर्द्धन गर्दै आइएको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१ १९:३३
प्रतिक्रिया दिनुहोस्