Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रम्पले जितेपछि क्यानडा बसाइँ सर्ने उपाय गुगलमा खोज्दै अमेरिकीहरू

आइतबार, कात्तिक २५, २०८१

काठमाडौ - अमेरिकाको आगामी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएपछि गुगल सर्चमा अनौठो ट्रेण्ड देखिएको छ ।

ट्रम्पको जितपछि अमेरिकामा गुगल सर्च प्रयोगकर्तामाझ क्यानडा कसरी बसाइँ सर्ने ? अर्थात् ‘हाउ टु मुभ टु क्यानडा’ भन्ने प्रश्नको जवाफ गुगल सर्चमा खोज्नेको संख्या ह्वात्तै बढेको छ । न्युजविकको रिपोर्ट अनुसार चुनावको रातमा उक्त विषयको गुगल सर्चमा ४०० प्रतिशतले वृद्धि भएको गुगल ट्रेण्डको डेटाले देखाएको छ । अझ रोचक त के भने क्यानडा कसरी सर्ने भन्ने कुरा गुगलमा सर्वाधिक खोजी गर्नेहरु राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसलाई सशक्त रुपमा समर्थन गर्ने ओरेगन, वासिंटनलगायतका राज्यहरुका रहेका छन् ।

अमेरिकामा गुगल सर्चको उक्त ट्रेण्डले चुनावी नतिजापछि धेरै अमेरिकीहरुले क्यानडा बसाइँ सर्ने विकल्पका बारेमा सोचिरहेको देखाएको छ । ट्रम्पको जित सुनिश्चित भएसँगै move to Canada, moving to Canada requirements, moving to Canada from US जस्ता शब्दावलीहरुको पनि गुगल सर्चमा तीव्र बढोत्तरी भएको थियो। ती मध्ये केही सर्चमा ५ सय प्रतिशत सम्मको वृद्धि भएको गुगल ट्रेण्डको तथ्यांकले देखाएको छ।

गुगल सर्चमा मात्र होइन अमेरिकाबाट क्यानडा बसाइँ सर्न थालेको भन्ने बारेका विभिन्न सोसल मिडिया पोस्टहरुको संख्यामा पनि वृद्धि भएको छ ।

कतिपय सोसल मिडिया पोस्टमा त क्यानडामा बसाइँ सर्नका लागि अमेरिकी नागरिकले अबलम्बन गर्नुपर्ने प्रक्रियाका बारेमा जानकारी समेत गराइएको छ ।

स्मरण रहोस् सन् २०१६ मा डोनाल्ड ट्रम्पले पहिलोपटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेपश्चात् अत्यधिक प्रयोगकर्ताका कारण क्यानडाको अध्यागमनको वेबसाइट नै क्रयास भएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्