एनपीएल सञ्चालन गर्ने बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं- आफूले आयोजना गर्दै आएको नामको प्रयोग गरेर नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता आयोजना गर्न लागेको भन्दै सर्वोच्च अदालत पुगेका आमिर अख्तर निराश बनेका छन् ।
उनको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश हरि फुँयालको एकल इजलासले कारण देखाउ आदेशमात्र जारी गरेको छ । यसअघि आमिरले अल्टिमेटम दिएर क्यानलाई सहमति गर्न नत्र कानूनी उपचार खोज्ने चेतावनी दिँदै आएका थिए, तर क्यानले अटेर गरेपछि उनी सर्वोच्च पुगेका थिए ।
आमिरले यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गरेका थिए, तर उक्त नामको प्रतियोगिता क्यानले मात्र आयोजना गर्नसक्ने भन्दै विरोध भएपछि उनले प्रतियोगिताको नाम फेरेर एभरेस्ट प्रिमियर लिग राखेका थिए ।
नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेकाले उक्त नाममा अरु कसैले प्रतियोगिता आयोजना गर्न नसक्ने दाबी आमिरको छ । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब क्यानलाई थप सहज भएको छ । क्यानले पहिलो पटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) यही मंसिर १६ देखि सुरु हुँदैछ ।