सिन्धुलीको हरिहरपुरगढीमा अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापक घाइते
हेटौंडा - मकवानपुरका एक शिक्षकमाथि गोली प्रहार भएको छ ।
मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ घर भएका प्रेमबहादुर बम्जनमाथि घर फर्कने क्रममा ३ जनाको अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
उनलाई सिन्धुलीको हरिहरिपुरगढी गाउँपालिका–६, स्थित सिन्धुली–सर्लाही–कर्मैया सडक खण्डमा उनीमाथि गोली प्रहार भएको हो । सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल खड्काका अनुसार ३ जनाको समूहले मोटरसाइकल चलाएर हिँडिरहेको अवस्थामा बम्जनलाई रोकेर नल कटुवा बन्दुकले गोली प्रहार गरेको बताए ।
बम्जनले लगाएको हेल्मेटको दाहिनेतर्फबाट प्रहार भएको गोलीले गाला छेडेर दाँत (बंगारा) मा अड्किएको डीएसपी खड्काले बताए ।
‘दाँतमा अड्किएकाले ज्यान जोगिएको पाइयो । गोलीले हेल्मेटको दाहिनेतर्फबाट गाला छेडिएको थियो’, उनले भने । घाइते बम्जनलाई सर्लाहीमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज लगिएको डीएसपी खड्काले बताए ।
मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुढेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्याक बम्जन आइतबार रौतहटको गैंटारस्थित आफन्तको घरबाट घर फकिँदै थिए ।
बम्जनले चलाएको प्रदेश २–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकल पछाडि उनका भाइ दिलबहादुर बम्जन सवार रहेकोमा उनी सकुशल रहेको डीएसपी खड्काले जानकारी दिए । ३ जनाको समूहमा रहेका व्यक्तिहरुले बम्जनमाथि बाटो ढुकेर गोली प्रहार गरेको देखिएकोले दुश्मनीका कारण हुन सक्ने उनले आशंका गरे ।