प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता
काठमाडौँ- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न इन्टरपोलको ९२औँ महासभामा सहभागी भई आइतबार स्वदेश फर्किएका छन्।
इन्टरपोल महासचिवालयको आयोजनामा कात्तिक १९ देखि २२ गतेसम्म सञ्चालित उक्त महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता भएका हुन्। प्रहरी महानिरीक्षक कुँवरसँगै उक्त महासभामा सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत स्वदेश फिर्ता भएका छन्। प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
महासभामा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र युएईका प्रतिनिधिहरूसँगको द्विपक्षीय भेटघाटका क्रममा समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल भएको थियो।