Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढी-पहिरो पीडितले राहत रकम नपाएपछि बागमती सरकारको ध्यानाकर्षण

आइतबार, कात्तिक २५, २०८१

काठमाडौँ- बागमती प्रदेश सरकारले बाढी-पहिरोका कारण मृत्यु भएका र घरबारविहीन बन्न पुगेका विपद् पीडितलाई कबुल गरिएको राहत रकमसमेत उपलब्ध नगराएपछि सर्वदलीय बैठक बसेर ध्यानाकर्षण गराइएको छ ।

असोज १० देखि १२ गतेसम्म आएको बाढी-पहिरोबाट बागमती प्रदेशको काभ्रे, मकवानपुर, काठमाडौँ, ललितपुर, सिन्धुली, रामेछाप जिल्लामा सबैभन्दा बढी जनधनको क्षति पुगेको थियो ।१४ असोजमा ललितपुरस्थित प्रदेश सुशासन केन्द्रमा मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा बासेको सर्वदलीय बैठकले विपदमा परी मृत्यु भएकाको परिवारलाई जनही २ लाख र आवासविहीनलाई अस्थायी आवास निर्माण गर्न तत्काल जनही १ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको डेढ महिना बितिसक्दा पनि कबुल गरिएको पूरा राहत रकम उपलब्ध नगराइएको भन्दै आइतबार प्रदेश सुशासन केन्द्रमा बसेको सर्वदलीय कार्यदलको बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सर्वदलीय बैठकमा सरकारले गत साउनमै गठन गरेको सत्तारुढ कार्यदलका संयोजक काँग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, काँग्रेस मुख्य सचेतक गोविन्द लम्साल, एमालेका प्रमुख सचेतक मधुसूदन पौडेल, माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकाल, राप्रपाकी सचेतक कुमारी तामाङ, नेकपा एकीकृत समाजवादीका सांसद बसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्रमान बज्राचार्य थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्