ट्रम्पले युद्ध नचर्काउन भन्दै पुटिनलाई टेलिफोन गरेको खुलासा, रुसद्वारा युक्रेनमा भिषण हमला
काठमाडौं– नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रसियाका राष्ट्राध्यक्ष भ्लादिमर पुटिनलाई टेलिफोन गरेको खुलासा भएको छ। उक्त टेलिफोन संवादमा ट्रम्पले पुटिनलाई युद्ध नचर्काउनका लागि आग्रह गरेको बताइएको छ।
यस्तो खबर अमेरिकाको वासिङ्टन पोस्टले प्रकाशित गरेको छ। विहीबारै ट्रम्पले पुटिनलाई फोन गरेको दाबी गरिएको छ। एउटा अन्तरवार्ताका दौरान ट्रम्पले पुटिनसँग कुराकानी गर्न चाहेको खुलाएका थिए।
तर, ट्रम्पले त्यस्तो आग्रह गरे पनि रुसले स्वीकार नगरेको देखिन्छ। किनभने रुस र युक्रेनले एकअर्काविरुद्ध अहिलेसम्मकी भिषण ड्रोन हमला गरेका छन्।
बीबीसीका अनुसार रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा भीषण ड्रोन हमला गरेका हुन्।
रुसको रक्षा मन्त्रालयले आफूले विभिन्न छ स्थानबाट ८४ वटा युक्रेनी ड्रोनलाई निष्क्रिय तुल्याएको जनाएको छ।
तीमध्ये कतिपय मस्कोतर्फ आइरहेका थिए र ती ड्रोनका कारण राजधानीका तीनवटा प्रमुख विमानस्थलबाट उडानहरू अन्यत्र मोड्नुपरेको थियो।
युक्रेनको वायुसेनाका अनुसार रुसले शनिवार राति १४५ वटा ड्रोन आफ्नो देशका विभिन्न ठाउँमा पठाएको र तीमध्ये अधिकांशलाई खसालिएको थियो।
अमेरिकामा राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले दुवै पक्षलाई द्वन्द्व अन्त्य गर्न दबाव दिन सक्ने अपेक्षा गरिएकै बेला यी आक्रमणहरू भएका हुन्।
मस्कोमा हमला गर्ने युक्रेनको प्रयासलाई युद्ध सुरु भएयताकै उसको सबैभन्दा ठूलो आक्रमण भनिएको छ। एक क्षेत्रीय गभर्नरले त्यसलाई ‘भीषण’ भनेका छन्।
अधिकारीहरूले अधिकांश ड्रोनहरू रामनस्कोय, कोलोम्ना र डेमडियाडोभा डिस्ट्रिक्टमा खसालिएको जनाएका छन्।
मस्कोबाट दक्षिणपश्चिममा पर्ने रामनस्कोयमा ड्रोनलाई खसाल्दा त्यसका भग्नावशेषबाट पाँच जना घाइते भएका र चारवटा घरमा आगलागी भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। उक्त नगरबाट ३४ वटा ड्रोन खसालिएको उसको भनाइ छ।
गएको सेप्टेम्बरमा रामनस्कोयमा गरिएको एउटा ड्रोन हमलामा एक महिला घाइते भएकी थिइन्। गएको वर्षको मे महिनामा दुईवटा ड्रोनलाई मध्यमस्कोको क्रेम्लिननजिकै ध्वस्त पारिएको थियो भने मस्को सिटी बिज्नेस डिस्ट्रिक्टमा कैयौँ हमलाहरू भएका थिए।
युक्रेनको ओडेसा क्षेत्रमा ड्रोन प्रहारबाट कम्तीमा दुई जना घाइते भएका थिए। तस्बिरहरूमा केही भवनमा आगोका लप्का र त्यसपछिको क्षति देख्न सकिन्छ।
युक्रेनी वायुसेनाले इरानमा निर्माण भएका ६२ वटा रुसी ड्रोन खसालिदिएको र ६७ वटा ‘हराएका’ जनाएको छ। थप १० वटा युक्रेनी हवाई क्षेत्र छाडेर रुसतर्फ नै फर्किएका थिए र केही छिमेकी बेलारुस र मोल्डोभातर्फ गएका थिए।
एएफपी समाचारसंस्थाले ‘इन्स्टिट्यूट फर द स्टडी अफ वार’को तथ्याङ्कलाई विश्लेषण गर्दा ड्रोनहरूको यस्तो भीषण आक्रमण सन् २०२२ मार्च यता गत महिना रुसी सेनाले सबैभन्दा ठूलो भौगोलिक उपलब्धि हात पारेपछि भएको हो।
रुसी फौजले अक्टोबरमा औसतमा १,५०० जना गुमाएको थियो भने दिनहुँजसो सैनिकहरू घाइते पनि भएका थिए।
अमेरिकी राष्ट्रपति निर्वाचनमा आफ्नो जितपछि डोनल्ड ट्रम्पले रुस–युक्रेन युद्धबारे कसरी प्रस्तुत हुन्छन् भन्नेमा व्यापक चासो पाइन्छ।
वाशिङ्टन पोस्टका अनुसार ट्रम्पले रुसी नेतालाई युक्रेनमा द्वन्द्व नचर्काउन चेतावनी दिएका थिए र उनलाई युरोपमा अमेरिकाको उल्लेख्य सैन्य उपस्थिति रहेको सम्झाएका थिए।
आफ्नो चुनावी अभियानमा राष्ट्रपति निर्वाचितले नियमित रूपमा आफूले एकैदिनमा युद्ध अन्त्य गर्न सक्ने बताएका थिए। तर उनले कसरी त्यसो गर्छन् भन्नेबारे केही खुलाएका छैनन्।
यसैबीच राष्ट्रपति जो बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ट्रम्पलाई युक्रेनलाई परित्याग नगर्न अनुरोध गरेका छन्। उनले बहिर्गमन हुन लागेको प्रशासनले किएभका लागि छुट्याइएको छ अर्ब डलर खर्च गर्ने पनि जनाएका छन्।