प्लेन टिकट पाए रवि लामिछानेलाई आजै नपाए मंगलबार बिहान रुपन्देही लगेर बयान गराइने
काठमाडौं– रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही प्रहरीले बयानका लागि लैजाने तयारी गरेको छ। सोमबार साँझसम्म प्लेन टिक पाएको खण्डमा लगिने र मंगलबारदेखि बयान गराइने भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अधिकारीले क्यानडा नेपाललाई दिएको जानकारीअनुसार बयान मंगलबारदेखि हुनेछ। प्रहरी अधिकारी भन्छन्,‘प्लेन टिकट पाएको खण्डमा सोमबार साँझसम्म ल्याउने कुरा छ। भएन भने मंगलबार बिहानै ल्याएर दिउँसो बयान गराइने छ।’
बुटवलको सुप्रिम सहकारीबाट रवि लामिछानेका नाममा गोरखा मिडिया प्रालिमा रकम दाखिला भएको प्रमाण फेला परेको थियो। जसलाई लामिछानेले आफू नभएको जिकिर गरिरहेका छन्। तर, रकम जम्मा गरिदिने रोशनी गुरुङलाई यसअघि नै पक्राउ गरी बयान लिइएको थियो।
जीबी राईको समूहले गरेको सहकारी ‘फ्रड’का रकम गोरखा मिडियासम्म लैजाने र त्यसको परिचालनमा लामिछानेको भूमिका देखिएपछि कात्तिक २ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि अनुसन्धान जारी छ।
लामिछानेमाथि संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा पनि अनुसन्धान गर्नेगरी आइतबार थप १३ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले म्याद थपेको थियो।