ग्वार्को फ्लाई ओभर निर्माणमा ढिलासुस्ती नगर्न मन्त्री दाहालको निर्देशन
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्रालयका उच्च अधिकारीसहित मन्त्री दाहाल सोमबार बिहान निर्माण स्थलमा पुगेका थिए । निरीक्षण पश्चात् मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिएका छन् । त्यस क्रममा उनले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताए ।काठमाडौँको सहरी तथा यातायात व्यवस्थापनमा महत्त्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमै सक्न उनले निर्देशन दिए । निरीक्षण टोलीमा मन्त्री दाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल लगायत अधिकारी सहभागी थिए ।
२०७८ सालको फागुन १२ गते देखि ठेक्का लागि निर्माण शुरु भएको उक्त फ्लाई ओभर थप भएको म्याद थप पछि २०८१ को पुष ८ गते सम्पन्न गर्नुपर्ने छ । ३० मिटर स्पानको ४ लेनको पुल सहितको फ्लाई ओभर निर्माणको काम आशिष-समानान्तर-रेलिगेर जेभी काठमाडौँले गरिरहेको छ ।