एमालेले पाउने जग्गा भाटभटेनीको नाममा पास
काठमाडौं- एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि अर्कै व्यवसायीको नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास भएको छ ।
भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको करिव एक महिनापछि उक्त जग्गा बल्ल आफ्नो नाममा लिएका हुन् ।
जग्गादानको घोषणा गर्दा उक्त जग्गा कालु गुरुङ लगायत सञ्चालक रहेको रोड सो रियल स्टेटका नाममा थियो । केही दिनअघि उक्त जग्गा नामसारी भएको हो ।
‘बिक्री प्रक्रियामार्फत रोड सो रियल स्टेटका नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोर प्रा.लि.का नाममा आएको छ’ मालपोत कार्यालय, कलंकी स्रोतले भन्यो, ‘तिहार बिदापछि उक्त जग्गा पास गर्ने काम भइसकेको छ ।’
गुरुङले दशैंको फूलपातीका दिन एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गादान घोषणा गरेका थिए । घोषणा अनुसार, उनले एक वर्षभित्र आफैले तीनवटा भवन बनाएर एमालेलाई जग्गा र भवन हस्तान्तरण गर्नेछन् ।
भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले त्यही जग्गादानको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुनुभन्दा अघि नै उक्त जग्गा आफ्नो कम्पनीको नाममा सारेको देखिन्छ ।