आन्दोलनका कार्यक्रम तय गर्न हिरासतमा रास्वपा सभापतिसँग दुई उपसभापतिको बैठक
काठमाडौं– आगामी आन्दोलन कसरी गर्ने भन्ने तय गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग दुई उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालको बैठक तय भएको छ।
सोमबार दिउँसो ३ बजेका लागि आन्दोलनका मोडालिटीको विषयमा ब्रिफिङ हुनेछ। सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाइएका सभापति लामिछानेसँगको परामर्श बैठकपछि रास्वपाले आन्दोलनको ढाँचा तयार पार्ने बताइएको छ।
लामिछाने हिरासतमा पुगे पनि कार्यबाहक सभापतिको जिम्मेवारी कसैले नपाएका कारण आन्दोलन कसरी अगाडि बढाउने भन्ने विषयमा रास्वपा अन्यौलमा रहेको छ। त्यहि अन्यौलता फुकाउनेगरी लामिछानेसँग भेटघाट र बैठकका निम्ति समय तय भएको बताइन्छ।
यद्यपि, लामिछानेलाई रुपन्देहीमा पनि बयानका लागि लैजाने तयारी भइरहेको छ। अहिलेसम्मको अवस्थामा दुई उपसभापतिको भेट निश्चित भए पनि प्रहरीले सभापतिलाई रुपन्देही लगेको खण्डमा भने के हुन्छ भन्ने निक्र्यौल भइसकेको छैन।