गैँडा स्थानान्तरण रोक्न माग गर्दै नवलपरासीका प्रजिअको ध्यानाकर्षण
काठमाडौँ- नवलपुरका गैँडाहरू अन्यत्र स्थानान्तरण गर्ने काम रोक्न नवलपुरका सरोकारवालाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । उनीहरूले आइतबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नवपलपुरका पर्यावरण तथा पर्यटनसँग सम्बन्धित ६ वटा संस्थाले संयुक्त रूपमा पत्र बुझाएका छन् । उनीहरूले पत्रमा गैँडा स्थानान्तरणले नवलपुरको जैविक विविधता, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योगमा असर पर्ने भएकाले त्यसलाई रोक्न माग गरेका छन् ।ध्यानाकर्षण पत्रमा स्थानान्तरणको सट्टा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वैज्ञानिक विधि अवलम्बन गरी गैँडाको उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।
नवलपुर होटेल व्यवसायी संघ, नवलपुर पर्यटन समिति, नेचर गाईड एसोसिएसन नवलपुर, ऐतिहासिक कावासोती ताल संरक्षण समिति, हरियाली संस्था र कावासोती होटेल व्यवसायी संघको नगर समितिले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन ।