सरकारको निर्णय प्राधिकरणले टेरेन : लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रिया देश टाट पल्टाउन दिइँदैन
विराटनगर - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश टाट पल्टाउन नदिइने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा आज पनि लाइन जोडिदिएन नि भन्ने प्रश्नमा उनले यस्तो भनेका हुन् ।
विराटनगरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘विद्युत्को लाइन जोडिएन होइन ? ठिक छ त्यो हेर्नुपर्छ । तर, देश बिगार्न र उद्योग धन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन ।’
ओलीले आफूले एक वर्ष ८ महिना सरकार चलाउने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने पनि बताए । ‘त्यसपछि चुनाव हुन्छ । चुनाव पछि परिणाम अनुसार अर्को सरकार बन्छ,’ उनले भने ।
उनले माओवादी केन्द्र सरकारमा नभएपछि आन्दोलन गर्ने भनिरहेको बताए । यस्तै माओवादीले सरकारले एसपीपी सम्झौता गर्न लाग्यो भनेको विषयमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यो ‘छटपटी’ भएको बताए । ‘मैले छटपटिएको जवाफ दिनु आवश्यक छैन । एसपीपी कहाँबाट निकाल्नु भयो । उहाँहरू सरकारमा हुँदा अलिअलि कुरा चलेको थियो । सम्झौता गर्ने कुरै छैन,’ उनले भने ।