कालोसूचीमा परेको ‘कान्छाराम’का मालिक राज्यमन्त्री तामाङले उर्जा सचिवको हुर्मत लिए
काठमाडौं– कालोसूचीमा परेको कान्छाराम कन्ट्रक्सशन प्रालिका मालिक समेत रहेका उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले मन्त्रालयका सचिव सुरेश अचार्यको हुर्मत लिएका छन्।
डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा लाल आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा राज्यमन्त्री तामाङले सचिव आचार्यलाई बोल्न नदिएर चुप लाग्ने आदेश दिँदै हुर्मत लिएका हुन्।
सोमबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा यस्तो दृश्य देखियो।
ऊर्जामन्त्री दीपक खड्का जरुरी मिटिङमा जानुपर्ने भन्दै उठेर हिँडेपछि राज्यमन्त्री पूर्णबहादुर तामाङले पत्रकार सम्मेलन अन्त्य गर्दा सचिवप्रति गैरजिम्मेवार रुपमा प्रस्तुत भएका थिए।
पत्रकार सम्मेलन सञ्चालन गरेका सचिवलाई मन्त्री नै हिँडेपछि प्रश्नको जवाफ दिनु पर्दैन भन्ने आशयसहित राज्यमन्त्री तामाङ प्रस्तुत भएका हुन्।
सुरुमा सचिव आचार्यले सक्षिप्त मन्तव्य राख्दै लाल आयोगको पूर्णपाठ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको जानकारी गराए ।
मन्त्री खड्का पत्रकार सम्मेलनमा करिब १५ मिनेटको आसपास बसेका थिए। हतार रहेको र अर्को बैठकमा जानुपर्ने भन्दै राज्यमन्त्री तामाङ र सचिव आचार्यलाई जिम्मा लगाएर हिँडेका थिए।
राज्यमन्त्री तामाङ पनि हिँड्न लागेपछि प्रश्नको जवाफ दिने क्रममा थिए सचिव आचार्य। तर, तामाङले भने,‘सचिवज्यू अब क्लोज गरेर धन्यवाद दिनुस्, सकियो।’
उत्तर दिन खोजेका सचिव आचार्य ट्वाँ परे। तामाङले यति मात्र भनेनन्। सचिव आचार्यले एउटा प्रश्नको जवाफ दिन्छु भन्दा तामाङले ‘छोड्दिनुस्। मन्त्री हिँडेपछि तपाईंले उहाँहरुसँग ऊ गरेर केही फाइदा छैन। क्याबिनेटको निर्णयमा तपाईंले ऊ गरेर हुन्छ? मन्त्री हिँडेपछि तपाईंले कहाँ जवाफ दिएर बस्न मिल्छ?’ भनेर हप्की शैलीमा बोलेर हुर्मत लिएका थिए।