Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस–एमाले गठबन्धन नभत्किने र सरकार नढल्ने मुख्य तीन कारण 

सोमबार, कात्तिक २६, २०८१

काठमाडौं– प्रतिनिधि सभाको अन्तिम विकल्पको गठबन्धनका रुपमा बनेको छ नेपाली कांग्रेस र नेकपा एमालेको सरकार। यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १८ महिना सरकार हाँक्दा सबै विकल्पको प्रयोग गरिसकेका छन्। 

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र केही स्वतन्त्र सांसदबाहेक सबै सरकारमा पुगिसकेका छन्। बन्न बाँकी रहेको अन्तिम विकल्पका रुपमा कांग्रेस–एमाले गठबन्धन बनेको थियो र यसको विकल्प सितिमिति भत्किने सम्भावना कम रहेको छ। 

यसमा दुई वटा कुरा सेकेन्डरी र तीन वटा प्राइमरी कारण छन्। दुई सेकेन्डरी कारणचाहिँ केपी शर्मा ओली दक्षिणपन्थी शक्तिको बिरोधी नेताका रुपमा छन् भने कांग्रेस सभापति त्यसका अनुकुल। यसकारण कांग्रेस र एमाले परस्पर प्रतिस्पर्धी भए पनि भूराजनीतिक दृष्टिले सन्तुलित हो। 

यसको अर्थ छ। जसरी परराष्ट्रमन्त्री आरजु राणालाई दक्षिणपन्थी शक्ति भारतले प्रधानमन्त्री सरहको स्वागत गरेको थियो, अहिलेसम्म ओलीलाई भ्रमणको निम्तो दिएको छैन। तर, ओली पहिलो प्रभावकारी भ्रमणचाहिँ चीनबाट गर्दैछन्। 

अबको १८ महिनापछि देउवा प्रधानमन्त्री बन्नेछन् र उनको पहिलो भ्रमण भारतबाट हुने लगभग निश्चित छ। तर, यो सरकार अहिले नै विभाजित नहुने ३ मुख्य कारण छन्। 

पहिलो, संविधान संशोधनको अनिवार्यता हो। यो गठबन्धन संविधान संशोधनका लागि बनेको र सबै दलको माग यहि रहेका कराण सदनमा दुई तिहाईबिना यो सम्भव हुन्न। यी दुई दलबाहेकको समीकरणले संविधानमा रहेका बुँदा संशोधनका लागि विकल्पको सरकारसँग ताकत नै रहन्न। यसकारण पनि यो गठबन्धन अभिभाज्य हुनेतिर देखिन्छ। 

दोस्रो, झिँगे दाउ थाप्ने कमजोर तेस्रो र चौथो पार्टीको दादागिरीको अन्त्य अनिवार्य थियो। सरकार बनाउने एजेन्डा पाएको कांग्रेस कमजोर हुने र म्यान्डेडतिर लम्किन नसकेको माओवादी केन्द्रको दादागिरी परास्त हुन आवश्यक थियो। अझ, कांग्रेसको विकल्पमा सत्तामा देखिएको रास्वपाको दादागिरी गृह मन्त्रालयमार्फत बनेका कारण त्यसलाई पनि साइज र अभ्यासमा ल्याउन आवश्यक ठानिएर दुई दलीय गठबन्धन तय भयो।  

तेस्रो तथा अन्तिम प्राथमिक कारणचाहिँ चुनावी नेतृत्वमा कांग्रेसको सफलता नै हो। अहिलेसम्म नेपालका आवधिक निर्वाचनको नेतृत्व अन्य दलका सरकारका पालामा सम्भव भएको छैन। 

पछिल्लो पटक ०७० होस् वा ०७४ र ०७९ निर्णायक निर्वाचन नेपाली कांग्रेसले मात्र सम्भव पारेको छ। ०६४ मा पनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेका बेला चुनाव भएको थियो। ०७० मा सुशील कोइराला र त्यसपछिका दुई वटा निर्वाचनका प्रमुख रुपमा सफल बनाउन शेरबहादुर देउवा प्रधानमन्त्री बनेर सम्भव भएको ठानिन्छ। 

यसर्थ, अबको सरकार यी तीन कारणले ओलीको विकल्पमा देउवा प्रधानमन्त्री बनी निर्वाचन हुनेछ। अन्यथा, यो गठबन्धन कुनै पनि कारणले भत्किएको खण्डमा नेपालमा चुनाव हुने सम्भावना नै गौण हुने देखिन्छ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्